“कांग्रेसभित्र कसैलाई पनि गलत निर्णय गर्ने छुट छैन”- गगन थापा

शनिबार, ०३ जेठ २०८२

वालिङ (स्याङ्जा) : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस एक राष्ट्रिय शक्ति भएकाले पार्टीभित्र कसैले पनि गलत निर्णय वा काम गर्न नपाउने स्पष्ट पारेका छन्।

स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई आज पुतलीबजारमा सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वको सरकार जनतामा देखिएको निराशालाई आशामा बदल्ने दिशामा काम गरिरहेको बताए।

उनले वर्तमान सरकार दुई ठूला दलबीचको सहमतिमा गठन भएको उल्लेख गर्दै, यो सरकार पूर्णरूपमा जनता केन्द्रित भएर अघि बढिरहेको दाबी गरे।

थापाले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेसले एक्लै निर्वाचनमा जानसक्ने गरी जनपक्षीय काम र पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे।

उनका अनुसार पार्टीभित्र अनुशासन र पारदर्शिता कायम रहनुपर्छ, जसका लागि कसैलाई पनि अनुचित कार्यको छुट नदिइने स्पष्ट सन्देश दिएको हो।

थापाले पार्टीको महाधिवेशन निर्धारित समयमै अर्थात् २०८३ सालको मङ्सिरभित्रै सम्पन्न गर्नुपर्ने बताए। “२०८४ को निर्वाचनपछि अधिवेशन गर्नुको कुनै विकल्प छैन”, उनले भने।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी र स्याङ्जा सभापति राजु थापालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले कांग्रेसभित्र सुधार, एकता र पारदर्शिताको आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार