शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन, अध्यक्षमा दीपक लामिछाने

शनिबार, ०५ पुस २०८२

सिड्नी । शब्दमाला नेपाली भाषा विद्यालयको १६औँ वार्षिक साधारण सभा ग्रानभिलस्थित रातो घरमा सम्पन्न भएको छ। साधारण सभासँगै विद्यालयको आगामी २०२६–२०२७ कार्यकालका लागि दीपक लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय राज रेग्मी, सचिवमा रामजी कोइराला, कोषाध्यक्षमा टीका रेग्मी, जनसम्पर्क अधिकृतमा दिपेन्द्र बानिया, शैक्षिक संयोजकमा अन्नु मिश्र घिमिरे र शैक्षिक सह–संयोजकमा सुष्मिता दाहाल चयन भएका छन्। यस्तै शाखा संयोजक/संयोजिकाहरूमा क्याम्प्सीबाट ईश्वर गौतम र सुदिप गौतम, ग्रानभिलबाट निशा पन्थ र प्रकाश सेढाईं, म्याक्वेरी फिल्डबाट डा. अर्जिना श्रेष्ठ र दुर्गा पाण्डे, द पोन्ड्सबाट हरि पौडेल र नवीन घले, वाइटाराबाट पदम राना मगर, न्युकासलबाट राजेश खड्का र चक्र घिमिरे तथा पेनरिथबाट सुरज श्रेष्ठ चयन भएका छन्।

विद्यालयको साधारण सभामा शिक्षक–शिक्षिका, अभिभावक, स्वयंसेवक, सल्लाहकार तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विजय राज रेग्मीले गरे भने सञ्चालन सचिव दीपक लामिछानेले गरे। प्रमुख अतिथिका रूपमा न्यू साउथ वेल्स फेडेरेसन अफ कम्युनिटी ल्याङ्ग्वेज स्कुल्सकी कार्यकारी सदस्य तथा विद्यालयकी संस्थापक सदस्य बिन्ध्या सुब्बा सहभागी थिइन्।

पूर्व अध्यक्ष तथा सल्लाहकार विक्रम शर्मा खरेल, अर्चना घले गुरुङ, पूर्व सचिव मुकेश बुढाथोकी, पूर्व अध्यक्ष समिन्द्र श्रेष्ठ तथा संविधान संशोधन समितिका संयोजक डा. नन्द राम आर्याल विशेष अतिथिका रूपमा उपस्थित थिए।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्णु घिमिरेले विद्यालयले पछिल्ला दुई वर्षमा हासिल गरेको प्रगतिबारे जानकारी दिए। उनका अनुसार दोस्रो पुस्ताका बालबालिकालाई मातृभाषासँग जोडिराख्ने लक्ष्यअनुसार विद्यालयले प्रभावकारी काम गरिरहेको छ। आठ स्थानमा कक्षा सञ्चालन र ४३० भन्दा बढी विद्यार्थीको सहभागितालाई उपलब्धिका रूपमा उल्लेख गर्दै आर्थिक व्यवस्थापन पारदर्शी र सन्तुलित रहेको जानकारी गराए।

सचिवीय प्रतिवेदन प्रस्तुत गर्दै सचिव दीपक लामिछानेले पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे। जनसम्पर्क प्रतिवेदन बिजेन्द्र थपलियाले तथा शैक्षिक प्रतिवेदन शैक्षिक सह–संयोजिका अन्नु मिश्र घिमिरेले प्रस्तुत गरिन्, जसमा ६० मध्ये ३० जना तालिमप्राप्त शिक्षक–शिक्षिकाले अध्यापन गराइरहेको जानकारी दिइयो। क्याम्प्सी, ग्रानभिल, म्याक्वेरी फिल्ड, द पोन्ड्स, वाइटारा, न्युकासल र पेनरिथ शाखाका संयोजक–संयोजिकाले शाखागत प्रतिवेदन पनि प्रस्तुत गरे।

निर्वाचन प्रक्रिया पूर्व अध्यक्ष विक्रम शर्मा खरेल, अर्चना घले गुरुङ र बिन्ध्या सुब्बाको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा निरन्तर योगदान पुर्‍याउने स्वयंसेवक तथा सांस्कृतिक प्रशिक्षक–प्रशिक्षिकालाई प्रशंसा–पत्र प्रदान गरियो भने विद्यार्थी आकृति घिमिरे, श्रेया पोखरेल, अलिसा के.सी. र रियाना पौडेलले सांस्कृतिक प्रस्तुति दिएका थिए।

गोरखा नेपाली समुदाय तथा गुठी अष्ट्रेलियाको पहलमा सन् २०१० मा स्थापना भएको शब्दमाला नेपाली भाषा विद्यालयले हाल न्यू साउथ वेल्सका आठ स्थानबाट ४३० भन्दा बढी विद्यार्थीलाई नेपाली भाषा, कला र संस्कृति शिक्षण–अध्ययन गराउँदै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार