फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउन सरकार गम्भीर हुनुपर्छ : डा. शेखर कोइराला

शनिबार, ०५ पुस २०८२

विराटनगर  : नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्वक गराउन सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । 

विराटनगर ६ सरौचियामा शनिवार आयोजित पार्टी कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष निर्वाचन गराउन सरकारले कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘काँग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । हामी त निर्वाचनमा जान्छौ नै । तर सरकारले शान्ति सुरक्षा प्रत्याभूति गराउनुपर्‍यो । अझै पनि जेलबाट सार्पसुटरसहित ५ हजार बढी कैदी फरार छन्। प्रहरीको हातहतियार लुटिएको छ । फरार कैदीलाई पक्राउ गर्नु पर्‍यो, हतियार बरामद गर्नुपर्‍यो । सरकार त्यतातिर ध्यान दिइरहेको छैन ।’ 

‘राजनीतिक  दलका नेता, पूर्वप्रधानमन्त्रीलाई काठमाडौं बाहिर जान नपाइने भन्दैछ । अनि सरकार अर्कोतर्फ सरकार म निर्वाचन गराउँछु भन्दै छ । यो कस्तो निर्वाचन गराउन खोजेको ?’ नेता कोइरालाले भने, ‘हामी विगतमा भएजस्तो सबै राजनीतिक दलहरूले सहभागिता लिएर निर्वाचनमा जान पाउनुपर्‍यो । कांग्रेस निर्वाचनप्रति सकारात्मक छ ।’ 

उनले भदौ २३ र २४ भएको जेन जी आन्दोलन फरक फरक रूपमा लिनुपर्ने उनको भनाई छ । नेता कोइराला भने, ‘२३ गतेको घटना घृणित थियो। सो घटनालाई जति निन्दनीय भने पनि माफी पाउने अवस्था छैन। तर सरकार र जेनजीले दुवै घटनालाई बेग्लै गरौँ भनिरहनु भएको छ । दुवै घटनामा दोषीलाई कानूनी रूपमा लिनुपर्छ । मुलुकका लागि २४ गते घटना पनि अत्यन्त दुर्भाग्य हो ।’ 

त्यसैगरि, नेता कोइरालाले अहिलेको अवस्थामा पार्टीको महाधिवेशन केही दिन तलमाथि हुनसक्ने आशङ्का व्यक्त गरे । १५ महाधिवेशनमा सभापतिको उम्मेदवारी दाबी गर्दै आएका नेता कोइरालाले भने, ‘पार्टीको नियमित महाधिवेशन हुनुपर्छ। त्यसका लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढौँ । क्रियाशील सदस्यताको विषयमा ध्यान दिऊँ। ’

वडाको अधिवेशनलाई सहमतितर्फ केन्द्रित गर्न नेता कार्यकर्तालाई सुझाव दिँदै उनले आकाक्षीबीच सहमति नभए प्रतिस्पर्धाबाट अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सो अधिवेशनमा सहमतिको अधिकतम प्रयास खोज्नुस् । सो प्रयास सफल नभए प्रतिस्पर्धा गराउनुस् । तर प्रतिस्पर्धामा हार भए तपाईँहरूले निर्वाचनका समय एक अर्कालाई धोका दिएको भन्दै अन्य गतिविधि गरे त्यो स्वीकार्य हुनेछैन । स्वास्थ्य प्रतिस्पर्धा गराउनुहोस् ।’ 

कार्यक्रममा केन्द्रीय सदस्य रुक्मिणी कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेपाल ट्रेड युनियन कांग्रेस मोरङका सभापति सुशील कोइराला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा एमालेका युवा नेता नवीन विक्रम शाह, तत्कालीन माओवादी केन्द्रका राजकुमार कामत लगायत करिब १ सय जनाले पार्टी प्रवेश गरेको वडा नम्बर ६ का बुथ सभापति रामनाथ ढकालले जानकारी दिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार