सिन्धुली । कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’ । अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ । शरीरका अङ्ग अचेत छन् । आँखा खुल्दैनन् । कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ । कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ ।
त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको । कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उनको स्थायी बसोबास छ । दुई वर्ष दुई महिना बित्नै लाग्यो, उनी अस्पतालको शय्याबाट उठ्न सकेको छैन । बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली छन् । तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उनकै भरमा छ । बिरामी श्रीमान्को पीडामा पिरोलिएकी विमला छेवैमा बसेर नाडी समाउँछिन् । मुहार सुम्सुम्याउँछिन् ।
यतिबेला उनको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य छैन । माइतीमा बुबा बितेपछि आमाको अवस्था दयनीय छ । घरतर्फका बुबा–आमा वृद्ध छन् । अस्पतालमा विमलालाई सघाउने कोही छैनन् । यस्तो दुःखद परिस्थितिको सामना उनी एक्लै गरिराखेकी छिन् ।
बिरामी श्रीमान्को हालत देख्दा उनको मन थामिदैन । आँखाबाट आँसु बगाइरहन्छिन् । बेला–बेलामा उनलाई चिच्याएर रुन आउँछ । त्यसबेला बिरामी श्रीमान्लाई रोएको थाहा नदिन शौचालयमा गएर रुँदा–रुँदा गरेर बाहिर निस्किन्छिन् । “२६ महिना भयो, रोएरै दिनरात बितिरहेको छ । म नजिक बसेर रुँदा उहाँको धड्कन बढ्छ । शौचालयमा गएर रुन्छु,” विमलाले आँखाबाट आँसुका ढिका खसाल्दै भनिन् ।
२६ महिनाअघि त तेजबहादुर र विमलाको दाम्पत्य जीवन खुसीले भरिएको थियो । चार वर्षको प्रेम सम्बन्ध विवाहमा रुपान्तरण भएको पाँच वर्ष पुगेकै थिएन । सुखी परिवारका लागि सन्तान जन्माउने योजना बनाउँदै थिए । २ चैत २०७९ दशा बनेर आयो यस दम्पतीको जीवनमा । तेजबहादुरले चलाएको ज८प ६४५८ नंको मोटरसाइकललाई तीनपाटन–९ का शेषराज पहाडीले चलाएको वा।प्र०१०२७च ४३७२ नंको बोलेरोले ठक्कर दियो । कमलामाईबाट तीनपाटन–११ तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही स्थानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरोले तीनपाटन–२ गैरीमा ठक्कर दिएपछि गम्भीर घाइते भएका तेजबहादुर त्यसयता कोमामा छन् ।
“तीनपाटन–११ लाम्पाङटार मेरो माइती गाउँ हो । घरबाट निस्कने बेला फोनमा म आउँदैछु, तिमी घर आउने तयारी गरेर बस, भन्नुभयो । म पर्खेर बसिरहेँ । गैरीमा उहाँ दुर्घटनामा पर्नु भएछ,” विमलाले सुनाइन् ।
उनका अनुसार तेजबहादुर दुर्घटनामा परेपछि सिन्धुलीबाट उपचारका लागि हेलिकप्टरमा काठमाडौँको हेम्स अस्पताल लगियो । त्यहाँ १० दिनमा १२ लाखभन्दा बढी खर्च भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल सारियो । त्यहाँ पनि उपचार खर्च महँगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सिन्धुली फर्काइयो । १४ महिनादेखि सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा भर्ना गरेर राखिएको छ । आर्थिक अभावका कारण उपचारमा मात्रै होइन, बिरामीलाई जाउलो खुवाउनसमेत समस्या हुन थालेको विमलाले दुखेसो सुनाइन् ।
विमलाका अनुसार तेजबहादुरको उपचारमा हालसम्म ५० लाख बढी खर्च भइसकेको छ । पीडक पक्षले दिने भनी सहमति गरेको उपचार खर्चसमेत पाउन सकेको छैन । गाडी चालक रहेका गाडी धनी शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा बिरामीको उपचारका लागि २० लाख दिने सहमति गरेका थिए । सोही सहमतिबमोजिम दिनुपर्ने रकममध्ये पाँच लाख मात्र प्राप्त गरेको र बाँकी रकम नपाएको विमलाले बताइन् ।
उपचारमा लाग्ने खर्च आफूले गर्न सक्ने अवस्था पनि छैन । ४५ लाख बढी ऋण भइसकेको छ । ब्याज बढिरहेको छ । तिर्न सक्ने आधार छैन । साहुले ऋण लिएको पैसा फिर्ता दिन दबाब दिन थालेका छन् । “बिरामीलाई एक छिन छोड्न मिल्दैन । यस्तो अवस्थामा रहेका श्रीमान्लाई छोडेर पनि कहाँ जाउँ, के काम गरौँ ?” विमलाले दुखेसो गरिन् ।
पीडकले सहमतिअनुसारको रकम दिन नसकेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले क्षतिपूर्तिको मुद्दा फैसला गर्न सकेको छैन । गाडी धनी तथा चालकसमेत रहेका पहाडी फरार छन् ।
यता, जिल्ला अदालत, सिन्धुलीबाट सवारीबाट अङ्गभङ्ग मुद्दा फैसला भइसकेको छ । उक्त मुद्दामा अदालतले २०८१ असार १२ गते कसुर ठहर गरेको थियो भने असार १९ गते सजाय तोकेको छ । न्यायाधीश रमेश शर्मा पौडेलको इजलासले तीन वर्ष जेल सजाय, रु २० हजार जरिवाना र ८०० क्षतिपूर्तिको सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनमा आएको छैन ।
पीडक शेषराज पहाडी दुई महिना २७ दिन मात्र हिरासतमा बसेको देखिन्छ । अदालतले तोकेको बाँकी सजाय कटान गर्न बाँकी रहेको जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ । अदालतबाट सवारी अङ्गभङ्ग मुद्दा फैसला भई सजाय तोकिए पनि मुद्दा चल्दा धरौटीमा छुटेका शेषराज फेरि पक्राउ परेका छैनन् ।
यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको क्षतिपूर्तिसम्बन्धी मुद्दा चालु अवस्थामा छ । पीडक र पीडितबीच भएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त मुद्दा फैसला गरेको छैन । सहमतिअनुसार तीन किस्तामा पीडित पक्षलाई उपचार खर्च दिने उल्लेख भएको छ । चार महिनाभित्र अर्थात् २०८१ साउनसम्म तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम पाउन नसकेको विमलाले गुनासो गरिन् ।
गत वैशाखमा उपचार खर्च दिलाइदिन, दोषीलाई कारबाही गर्न र पीडितलाई न्यायको माग गर्दै विमला बिरामी श्रीमान्सहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बसेकी थिइन् । प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले पीडित पक्षलाई शान्त गराउँदै पीडकको खोजी भइरहेको बताए । चाँडै न्याय दिलाउनेछौँ भन्ने सम्बन्धित निकायको आश्वासनको प्रतीक्षामा विमला बसेकी छिन् ।
प्रतिक्रिया