काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकलाई सेटिङमा युरोप र खाडी मुलुक पठाउने गरेको भेटिएपछि विस्तृत अनुसन्धान थालेको छ । आयोगले बुधबार गृहमन्त्री रमेश लेखकमातहतको विमानस्थल अध्यागमन कार्यालयमा छापा पारेर कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
विमानस्थल अध्यागमन भिजिट भिसा प्रकरण
भट्टराईसहित ४ जनासँग आयोगका अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । खगेन्द्र सुवेदी र बालकृष्ण पौडेलसहित चार जनाको मोबाइलसहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छन् ।
नेपालबाट भिजिट भिसामा खाडी देश जानेसँग अध्यागमनमा ५० हजारसम्म र युरोपियन देश जानेसँग तीन लाख रुपैयाँसम्म असुली हुने गरेको पाइएपछि अख्तियारले अध्यागमनमा छापा मारेको थियो ।
स्रोतका अनुसार अध्यागमनबाट हुने यस्तो कारोबार दैनिक ३० देखि ५० लाख रुपैयाँको हाराहारी हुने गरेको छ । गृह मन्त्रालयसमेत जोडिएको यो प्रकरणमा अख्तियारले मोबाइल र डिभाइस लिएर अनुसन्धान गरिरहेको छ ।
बुधबार अख्तियारले छापा मार्ने जानकारी पाएलगत्तै गृहमन्त्री रमेश लेखकले हतार हतारमा अध्यागमन प्रमुख भट्टराईलाई मन्त्रालय झिकाएका थिए ।
तर, अख्तियारले भने प्रमुख भट्टराईलाई अध्यागमन कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । खाडी र युरोपेली मुलुक पठाउनका लागि एजेन्टले प्रमुख भट्टराईलाई मोबाइलमा म्यासेज पठाउने र सोहीअनुसार उनले सेटिङमा विदेश पठाउने गरेको स्रोतले बतायो ।
खाडी मुलुकमा भिजिट भिसामा जान खोज्नेलाई विमानस्थल अध्यागमनका कर्मचारीहरूले कागजात नपुगेको भनी फर्काउने गर्दै आएका थिए । तर, भट्टराई अध्यागमनको प्रमुख भएर आएपछि निश्चित म्यानपावर र एजेन्टहरूसँगको सेटिङमा आउनेहरूलाई सहज रूपमा युरोप र दुबई जान छुट दिइँदै आएको थियो । त्यसरी सहज रूपमा विदेश जानेहरूसँग एजेन्टहरूले रकम पहिला नै संकलन गर्र्ने र सो रकम अध्यागमन प्रमुखसम्म पुग्र्नेगरेको उजुरीको आधारमा सहसचिव भट्टराई पक्राउ परेका थिए ।
बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले खाडीमा जाने प्रतिमहिला कम्तीमा ४० हजार र पुरुषसँग २० हजार रुपैयाँ असुल्ने गरेका हुन् । पछिल्लो समय भिजिट भिसामा खाडीमा गएका ४७ महिला फर्केका छैनन् ।
‘हामीले विमानस्थल अध्यागमनमा सेटिङमा युरोप र खाडी मुलुकमा भिजिट भिसामा पठाउने गरेको सूचना पाएलगत्तै छापा मारेका थियौं,’ अख्तियारका एक अधिकारीले भने, ‘अख्तियारमा परेको उजुरी र संकलित सूचनाको आधारमा छापा मारिएको हो ।’ आयोगले अनुसन्धान अधिकृत तोकेर बुधबारदेखि नै विस्तृत अनुसन्धान सुरु गरिसकेको छ ।
अख्तियारको अनुसन्धानमा कर्मचारी र विदेश पठाउने एजेन्टहरू पनि रहेका छन् । अहिले आयोगले रंगेहात घुसका घटना र प्रमाण नष्ट गर्न सक्ने अवस्थामा बाहेक कुनै पनि व्यक्तिलाई पक्राउ गर्दैन ।
सोहीअनुसार अध्यागमन प्रमुख भट्टराईलाई बुधबार मोबाइल डिभाइस र कम्प्युटरसँगै पक्राउ गरिएकोमा बुधबार साँझ छाडेर बिहीबार पुन बयानका लागि बोलाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा विमानस्थलमा रहेको अध्यागमन कार्यालयकै अधिकारीहरूको संलग्नतामा फर्जी कागजातका आधारमा नेपाली नागरिकलाई विदेश पठाइने अनुसन्धानका क्रममा खुलेको थियो ।
अख्तियारको प्रारम्भिक अनुसन्धानमा साउदी, यूएई र कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागमन जाँच गरेर पार गराउने गर्दै आएको थियो ।
विमानस्थल अध्यागमनमा २४ घण्टा ड्युटीमा भने कर्मचारीलाई क्रमगत रूपमा समूह बनाएर तीन समूहमा खटाउने गरिएको थियो । हरेक समूहका प्रमुख अध्यागमनको प्रमुखसँग सिधा सम्पर्कमा रहने गरी ड्युटी खटाउने गरेको पाइएको अख्तियार स्रोतले जनायो ।
को हुन् भट्टराई ?
हाल अनुसन्धानमा रहेका तीर्थराज भट्टराई पटक पटक विवादमा आइरहेका पात्र हुन् । दश वर्षअघि २०७२ सालको भूकम्प गएको समयमा काठमाडौको स्थानीय विकास अधिकारी छँदा त्रिपाल खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेका थियो । सफाइ पाएपछि उनी सेवामा जोडिएका थिए ।
त्यसपछि उनी शक्तिकेन्द्रको नजिक भएर आकर्षक ठाउँमा पोस्टिङ हुँदै आएका छन् । पछिल्लो समय अध्यागमन विभागसँग सन् २०२४ मा विमानस्थलबाट विदेश गएकाहरूको एकीकृत तथ्यांक मात्र छ । २०२४ मा भ्रमण र तीर्थयात्रामा नेपालबाट पुरुष १ लाख ५९ हजार ४३ जना र महिला १ लाख १५ हजार ३५६ जना विदेश गएका थिए ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया