काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सीहरूको मिलेमतोमा मानव तस्करी हुने गरेको छ।
दुई वर्षअघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब एक हजार ६ सय राहदानीमाथि गरेको अनुसन्धानले यो तथ्य देखाएको हो। अहिले पनि गृहमन्त्रीको सचिवालयका कर्मचारीहरूसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको स्रोतको दाबी छ।
भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न रहेको आरोपमा केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई गृह मन्त्रालयमा तानिएको छ। उनीसँगै खगेन्द्र सुवेदी, कविता पौडेल र ग्रिन होलिडेज ट्राभलका बालकृष्ण खड्का अनुसन्धानमा तानिएका छन्।
उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। उनीहरूले यसमा गृह मन्त्रालयका उच्च अधिकारीसहित गृहमन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीको समेत संलग्नता रहेको बताएको अख्तियार स्रोतको दाबी छ।
मानव तस्करीमा गृह मन्त्रालयका कर्मचारी नै संलग्न रहेको दुई वर्षअघिको प्रहरी अनुसन्धानले देखाए पनि दोषीलाई कारबाहीको दायरामा नल्याईकन ढिसमिस पारिएकाले यसले निरन्तरता पाइरहेको स्रोतको दाबी छ। भिजिट भिसामा विदेश पठाउनेमा विमानस्थलका कार्यालयका तत्कालीन अध्यागमन अधिकृत नरवीर खड्कासहित नौ जनाको संलग्नता देखिएको थियो। अधिकृत खड्का माओवादी केन्द्रनिकट थिए।
त्यतिबेला विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत खड्का, विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो मानव तस्करीमा संलग्न रहेको अनुसन्धानबाट देखिएपछि उनीहरूविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो।
साथै प्रहरीले लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव र गणेश पाण्डेलाई पनि प्रतिवादी बनाएर अदालतमा पठाएको थियो। यसको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डिएसपी गोविन्द पन्थीले गरेका थिए।
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीमा गृह मन्त्रालय र गृहमन्त्रीको सचिवालयका कर्मचारीको पनि संलग्नता भएको अभिव्यक्ति आइरहेका छन्। त्यतिबेला अनुसन्धान गरिरहेका पन्थीको सरुवासमेत भएको थियो।
२०८० असोज १९ गते एक हजार ६ सय ४१ थान राहदानी उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठाइएको थियो। त्यतिबेला यो मामिलामा अनुसन्धान गरिरहेका बेला आफूलाई अनुसन्धानबाट हटाइएको अभिव्यक्ति पन्थीले दिएका छन्।
भिजिट भिसामा हुने मानव तस्करी रोक्न भनेर प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोली खटाएको थियो। तर २०८० असोजमै मानव बेचबिखन ब्युरोको टोलीलाई विमानस्थलबाट हटाइएको थियो। प्रहरीले पुनः ब्युरोको टोलीलाई विमानस्थलमा पठाएको भए पनि अध्यागमनका कर्मचारीहरूले विरोध गरेपछि फिर्ता गरिएको थियो।
अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भइरहेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गरिएको तर अध्यागमनकै कर्मचारीले विरोध गरेपछि फिर्ता गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान हुँदै संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया, कतार, सिरिया, इराक, बहराइनलगायत मुलुकमा नेपाली महिलालाई गैरकानुनी रूपमा पठाउने गरिएको छ। उनीहरूलाई गैरकानुनी रूपमा पठाउन सहयोग गरेबापत पाउने रकमको हिस्सा अध्यागमन कार्यालयका कर्मचारीले गृहमन्त्रीको सचिवालय, गृहसचिव, गृह प्रशासनलाई छुट्याउने गरेको स्रोतको दाबी छ।
खासगरी भिजिट भिसामा महिलालाई दुवईमा पाठाउने कार्य रोक्न सरकारले कडाइ गरेपछि ट्राभल एजेन्सीहरूले ओमनलाई ट्रान्जिट प्वाइन्ट बनाएर मानव तस्करी गर्दै आएका छन्। यसमा विभिन्न एयरलाइन्स कम्पनीहरूको पनि संलग्नता देखिएको स्रोत बताउँछ। कुवेत एयरवेज र जजिरा एयरवेजबाट गैरकानुनी रूपमा नेपाली महिलालाई विदेश पठाउने गरेको स्रोतले बतायो।
खाडी मुलुकमा नेपाली महिलालाई घरेलु कामदारको रूपमा पठाउन सरकारले सरकारले २०७३ सालदेखि नै रोक लगाए पनि तस्करहरूले मिलेमतोमा विभिन्न माध्यमबाट त्यहाँ पुर्याउने गरेका छन्। खासगरी ग्रामीण र विपन्न महिलालाई रोजगारीको प्रलोभनमा विभिन्न मुलुकमा पठाउने गरिएको छ।
सरकारले भिजिट भिसामा विदेश जान बनाएको ६बुँदे मापदण्डमै खेलेर विभिन्न ट्राभल एजेन्सीलगायतको मिलेमतोमा महिलालाई खाडीलगायतका मुलुकमा पुर्याउने गरेका छन्। सरकारले ६बुँदे मापदण्ड २०८० माघ १० गते देखि लागु गरेको हो। सरकारले भिजिट भिसा र पर्यटन भिसामा विदेश यात्रा गर्दा आवश्यक कागजपत्रको विवरण तोकेको भए पनि नक्कली कागजात बनाएर पठाउने गरिएको छ।
स्रोतका अनुसार भिजिट भिसाको आवरणमा दुवईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ। पहिला भिजिट भिसामा दुवई जाने प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो। ६बुँदे मापदण्डमा दुईतर्फी हवाई टिकट लगायत कागजात हुनुपर्ने भनिएको छ।
नयाँ मापदण्डमा भिजिट भिसामा विदेश जाँदा अनिवार्य ५०० डलर हुनुपर्ने भनिए पनि एयरलाइन्सका कर्मचारीले मिलेमतोमा त्यति डलर नभए पनि बोर्डिङ पास जारी गर्ने गरेको पाइएको छ। यसरी कति महिलालाई विदेश पठाइयो र ती कहाँ छन् भन्ने तथ्यांक सरकारी निकायसँग छैन। खाडी मुलुकमा २०७३ सालयता घरेलु कामदारका रूपमा तीन लाख नेपाली महिला अवैध रूपमा गएको पाइएको छ।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया