झापामा बाढीका कारण ४६ जनाको मृत्यु,यस वर्ष नौ हजार परिवार बाढीको उच्च जोखिममा

मंगलबार, १३ जेठ २०८२
फाइल तस्बिर

झापा : झापामा यस वर्ष बाढीका कारण नौ हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ। जिल्लाका झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिका बाढीको उच्च जोखिममा रहेका अनुमान गरिएको हो।

शिवसताक्षी, कनकाई, भद्रपुर, मेचीनगर, गौरादह, दमक, अर्जुनधारा र बिर्तामोड नगरपालिका तथा हल्दिबारी र बुद्धशान्ति गाउँपालिका जोखिम तुलनात्मक रूपमा कम जोखिममा रहेका जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीका सभापति लोकराज ढकालले जानकारी दिए।

यी पालिकाका नदीमा पानीको सतह चार दशमलव तीनभन्दा माथि हुनसक्ने भन्दै उनले आठ हजार ९१९ परिवार विस्थापित हुने अनुमान गरिएको जानकारी दिए। उनका अनुसार जिल्लाका विरिङ, कनकाई, रतुवा, मेची, निन्दा, देउनिया, फुलवासा, हडिया, टाङटिङ, नेते, कमल, बनियानीलगायत नदीमा बर्सेनि बाढी आउने गरेको छ। यी नदीमा पानीको बहाव बढेसँगै बाढी गाउँबस्ती पस्ने गरेको छ।

जिल्लाको मध्य भएर बग्ने कनकाई, विरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरू रहेको जनाउँदै ढकालले जिल्लाभरि नौ स्थानमा वर्षा मापन केन्द्र रहेको बताए। उनका अनुसार जिल्लामा रेडक्रसका स्वयंसेवक एक सय २५ जना तयारी अवस्थामा छन्। 

दुई सय परिवारलाई पुग्ने गैरखाद्य तथा उद्धारका सामग्री १५ थान, लाइफ ज्याकेट छ थान, अस्थायी आवासका लागि टेन्ट, १० हजार लिटर खानेपानीको ट्याङ्की, हाते माइक, साइरनलगायत सामग्री कनकाई नदी वारिपारि भण्डारण गरिएको झापा रेडक्रसले जनाएको छ।

सात वर्षमा बाढीले ४६ जनाको मृत्यु

झापामा पछिल्लो सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छभने एक जना बेपत्ता भएका छन्। विसं २०७५ देखि गत वर्षको वर्षायामसम्ममा जिल्लाका विभिन्न स्थानमा आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ढकालले जानकारी दिए। उनका अनुसार २०७६ सालमा बाढीमा परी बेपत्ता भएका झापा गाउँपालिकाका एक जना हालसम्म पत्ता लाग्न सकेका छैनन्।

बाढीका कारण सोही अवधिमा नौ हजार २६ परिवार प्रभावित, तीन सय ५९ परिवार पूर्ण रूपमा विस्थापित र दुई हजार ५८० परिवार रूपमा आंशिक विस्थापित भएका सभापति ढकालले बताए। 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार