इलाम : इलाम नगरपालिका–७ स्थित टुडिखेलबाट चोरी भएको रोयल इन्फिल्ड मोटरसाइकलसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतबार राति करिब ८ः१५ बजे टुडिखेलस्थित नाङलो रेष्टुरेन्ट अगाडि पार्किङ गरिएको प्र–१–०१–०१८ प–१७२४ नम्बरको कालो रङको रोयल इन्फिल्ड मोटरसाइकल चोरी भएको थियो।
प्रहरीले तत्काल खोजतलास सुरु गरेपछि इलाम नगरपालिका–८ तिल्केनी क्षेत्रबाट चोरी भएको मोटरसाइकलसहित दुई जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेमा इलाम नगरपालिका–८ तिल्केनीका २० वर्षीय सुमन तामाङ र २८ वर्षीय भूपेन्द्र कडेरिया रहेका छन्।
दुवैलाई जिल्ला अदालत इलाममा उपस्थित गराई सात दिनको म्याद थप गरिएको र हाल जिल्ला प्रहरी कार्यालय इलाममार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चोरीमा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे पनि अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया