सार्वजनिक यातायातमाथि सरकारको प्रहार : भीमज्वाला राई

बुधबार, १४ जेठ २०८२

 धनगढी : नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाई कमिटीको दोस्रो अधिवेशनमा केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सरकार कमिसनको प्रभाव र दलालहरूको दबावमा सार्वजनिक यातायात ध्वस्त पार्न लागेको आरोप लगाएका छन्। उनले संघीय कानुन र सवारी ऐन २०४९ विपरीत नियमावली जारी गरिएको भन्दै आपत्ति जनाए ।

राईले रातो नम्बर प्लेट भएका निजी सवारीलाई यात्रु बोक्न दिने गण्डकी प्रदेशको नियमावली संघीय कानुनसँग बाझिएको बताउँदै त्यसले मजदुर र व्यवसायी दुवैलाई मारमा पार्ने बताए । अन्य प्रदेशहरूले समेत सोही प्रकृतिका नियमावली अनुशरण गरिरहेको भन्दै उनले दुबै तहका सरकार मौन रहेको टिप्पणी गरे ।

संविधानविपरीत बनेका नियमावली तत्काल खारेज गर्न माग गर्दै श्रमिक र लगानीकर्ताका माग बेवास्ता गरिए संघर्षको बाटो रोजिने चेतावनी दिए । राईले सवारी ऐन संशोधन प्रक्रियामा सरोकारवाला पक्षको सहभागिता नहुनु पनि चिन्ताको विषय भएको बताए ।

कार्यक्रमले भानदेव पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रुपमा चयन गरेको छ। कृष्ण खड्का उपाध्यक्ष, गणेश खत्री सचिव, तेजबहादुर थारु सहसचिव र गोविन्द खत्री कोषाध्यक्ष चयन भए ।

सो अवसरमा अध्यक्ष राईलाई गतिशील श्रमिक नेता भनेर सम्मान गरिनुका साथै विभिन्न श्रमिक तथा व्यवसायी नेताहरुलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार