धनकुटा : गए रातीदेखिको लगातारको भीषण वर्षाले धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित लेउती खोलाले फेदीमा रहेको कोशी राजमार्गको ५० मिटर सडक भाग बगाएको छ । सडक बगाएसँगै कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पहाडी जिल्लामा चल्ने सवारी साधनहरू पूर्ण रूपमा रोकिएका छन् । यसले यातायात सेवा ठप्प भएको छ र यात्रुहरू अलपत्र परेका छन् । स्थानीयका अनुसार, यो स्थान विगतमा पनि वर्षा र खोलाको कटानबाट प्रभावित हुँदै आएको छ । केही वर्षअघि पनि सोही खण्डमा खोलाले सडक बगाएको थियो ।
मनसुन कोशी प्रदेशबाट भित्रिए सँगै कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लामा हाल भारी मात्रामा वर्षा भइरहेको छ । महाशाखाले आज बिहान एक सूचना प्रकाशित गर्दै ती जिल्लाहरूमा धेरै स्थानमा भारी वर्षा मापन भइसकेको र दिउँसोसम्म अझै थप वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन समेत भनेको छ ।
प्रतिक्रिया