विराटनगर : विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा जिल्ला अदालत मोरङले अध्यक्ष केदारनाथ शर्मालाई दोषी ठहर गरेको छ।
न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले आइतबार सुनाएको फैसलामा अध्यक्ष शर्मा सहकारी ऐनविपरीतको कार्यमा संलग्न रहेको पुष्टि भएको उल्लेख गरिएको छ। सजाय निर्धारणका लागि सोमबार पेसी तोकिएको छ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सोही मुद्दामा सहकारीकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई पनि दोषी ठहर गरिएको छ। उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराई भने सफाइ पाएका छन्।
मामिलामा संलग्न भनिएका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारी फरार छन्। उनीहरू उपस्थित नभएकाले उनीहरूमाथिको मुद्दा हाललाई मुल्तबीमा राखिएको छ।
२०७९ चैत १२ गते जिल्ला सरकारी वकिलको कार्यालयले अध्यक्ष शर्मा लगायत ८ जनाविरुद्ध ‘सहकारी संस्थाको रकम हिनामिना’ गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। अध्यक्ष शर्मा, सचिव न्यौपाने (शर्माकी पूर्वपत्नी) र प्रबन्धक खवास पुर्पक्षका लागि थुनामा छन् भने उपाध्यक्ष गौतम र सञ्चालक भट्टराई धरौटीमा रिहा भएका थिए।
तथ्यांकअनुसार, २०५२ सालमा दर्ता भएको तुलसी सहकारीको स्वामित्व केदार शर्मा नेतृत्वमा २०७२ सालदेखि आएको हो। विराटनगरको नर्सिङ होम चोकमा केन्द्रीय कार्यालय स्थापना गरी उनले झापा (दमक), उदयपुर (गाईघाट) र सिराहा (गोलबजार) मा शाखा विस्तार गरेका थिए। मोरङको लेटाङमा पनि शाखा खोल्ने तयारी भइरहेको थियो।
अनुसन्धानका क्रममा सहकारीले विराटनगर, दमक, गाईघाट र गोलबजार शाखामार्फत २१ हजार १ सय ५४ जना सदस्यहरूसँग १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको बचत संकलन गरेको पुष्टि भएको छ।
विशेषतः विराटनगर शाखाले ६० करोड ४१ लाख रुपैयाँ, दमक शाखाले ६० करोड ७२ लाख, गाईघाटले २३ करोड ६६ लाख र गोलबजारले ९४ लाख रुपैयाँ बचत संकलन गरेका थिए।
शर्माले बचतकर्ताबाट संकलन गरिएको रकम अनधिकृत रूपमा आफ्नै स्वामित्वका ६ वटा निजी कम्पनीमा ऋण प्रवाह गरेको अनुसन्धानमा खुलेको छ। कुल ४१ करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम यस्ता कम्पनीहरूमा लगानी गरिएको थियो।
सहकारीको कुल पुँजी १ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ रहेकोमा १ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी ऋण लगानीमा गएको र झन्डै १७ करोड रुपैयाँ खर्चको विवरण अद्यावधिक नभएको पाइएको छ।
प्रतिक्रिया