विराटनगर : घुस लिएको आरोपमा नेपाल प्रहरीका एक जुनियर अधिकृत जिम्मेवारीबाट हटाइएका छन्। वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामअवतार यादवलाई सीआरभी केसलियाको इन्चार्ज पदबाट हटाएर जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको हो।
केही दिनअघि मात्र सीआरभीमा पठाइएका यादवमाथि सुनसरीको देवानगन्ज गाउँपालिका–७ का इन्द्रदेव यादवसँग १३ हजार रुपैयाँ घुस लिएको गम्भीर आरोप लागेको छ।
इन्द्रदेव यादव विराटनगर–१८ भेडियारीस्थित आफन्तसँग सापटी लिएको १ लाख ७५ हजार रुपैयाँ लिएर घर फर्कँदै गर्दा असई रामअवतारले नियन्त्रणमा लिई सीआरभीको गाडीमा राखेर नहरतिर लगेका थिए। राति ८ः३० बजेपछि करिब दुई घण्टा गाडीमै राखी ‘यति धेरै पैसा बोकेर हिँड्न पाइँदैन, मुद्दा हालिन्छ, जेल जानुपर्छ’ भन्ने धम्की दिँदै उनले १३ हजार रुपैयाँ असुल गरेको आरोप पीडितको छ।
इन्द्रदेवले डरका कारण रकम बुझाएको र त्यसपछि मात्रै आफूलाई छाडिएको बताए। उक्त घटना सीसी क्यामेरा फुटेजमा समेत देखिएको स्रोतको दाबी छ।
यादवलाई पठाउने निर्णय यसअघि त्यहाँका इन्चार्ज असई रूपेश सिंहमाथि पनि नाजायज काम र अवैध लाभको आरोप लागेपछि गरिएको थियो। रूपेशलाई हटाएर रामअवतार पठाइएको थियो, तर रामअवतार आफैं पनि विवादमा तानिए।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, घटना सार्वजनिक भएपछि डीएसपी कोपिला चुँडालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। ‘घुस लिएको वा नलिएको यकिन भइसकेको छैन। छानबिन भइरहेको छ, निष्कर्षअनुसार कारबाही हुन्छ,’ एसपी चिमरियाले बताए।
असई रामअवतारले लिएको भनिएको १३ हजार रुपैयाँ भने अहिलेसम्म बरामद भएको छैन। सीआरभी केसलियाको नयाँ इन्चार्जको जिम्मेवारी अहिले असई शिव प्रधानलाई दिइएको छ।
प्रतिक्रिया