सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा–८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते शनिबार हुने निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समूहले उपभोक्ताहरूलाई मतदानका लागि अपिल गरेको छ।
बुधबार सलकपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत लोकतान्त्रिक समूहले आफ्नो उम्मेदवारहरूलाई विजयी गराउन सर्वसाधारण उपभोक्तामा आग्रह गरेको हो। “युवा, समावेशी र अनुभवीको समूह, निष्पक्षता, पारदर्शिता र शुद्धताको प्रतिबद्धता” भन्ने नाराका साथ अगाडि बढेको उक्त समूहका तर्फबाट अध्यक्ष पदमा श्यामप्रसाद ढकाल उम्मेदवार छन्।
समूहबाट उपाध्यक्षमा दीपक गुरूङ, सचिवमा उद्ववप्रसाद अधिकारी, कोषाध्यक्षमा सावित्रा पोखरेल, सहसचिवमा दिनानाथ अधिकारी (दिपेन) तथा सदस्यहरूमा बबिता कार्की अधिकारी, लक्ष्मी भण्डारी, ज्ञानबहादुर खड्का, राजु बरूवाल, मनबुल मिया र सिलास उराउ उम्मेदवार छन्। लेखा समिति संयोजकमा ई. सरोज भट्टराई तथा सदस्यहरूमा कपिल पोखरेल र मन्दिरा थापा रहेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, कांग्रेस नेता देवराज तामाङ, भक्तिप्रसाद सिटौला र लोकप्रसाद संग्रौला लगायतले लोकतान्त्रिक समूहलाई समर्थन जनाउँदै जिम्मेवार नेतृत्वको आवश्यकता औँल्याएका थिए।
अध्यक्ष पदका उम्मेदवार श्यामप्रसाद ढकालले नयाँ पाइपलाइन विस्तार, पुराना पाइपको प्रतिस्थापन, एक घर–एक धारा सुनिश्चित गर्ने, कमजोर आर्थिक अवस्थाका उपभोक्तालाई सहज पहुँच सुनिश्चित गर्न नगरपालिका र वडासँग समन्वय गरिने प्रतिवद्धता व्यक्त गरे।
समूहका प्रमुख कार्ययोजना र प्रतिबद्धता:
नयाँ कार्यालयमा फर्निचरको व्यवस्था गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने
पुरानो ट्याङ्की मर्मत तथा रंगरोगन गर्दै परिसरलाई आकर्षक बनाउने
डिजिटल प्रविधिको प्रयोगमार्फत भुक्तानी र गुनासो सुनुवाइ छिटो र प्रभावकारी बनाउने
वास चेम्बर र फायर पोइन्टको व्यवस्था गर्दै वास आउट प्रणाली लागू गर्ने
सरसफाइ, खानेपानीको सदुपयोग र स्रोत संरक्षणका कार्यक्रम सञ्चालन गर्ने
हरेक आर्थिक वर्षको पुष मसान्तमा साधारण सभा गर्ने
टोल समितिलाई सक्रिय र जिम्मेवार बनाउने
कर्मचारी नीतिलाई समयानुकूल परिमार्जन गर्दै कार्यक्षमता अभिवृद्धि गर्ने
नियमित पानी परीक्षण गर्दै शुद्धताको विशेष ध्यान राख्ने
मोबाइल बैंकिङ माध्यमबाट सहज बिल भुक्तानी र गुनासो प्रणाली विकास गर्ने
फिल्ट्रेसन प्रणालीमार्फत पानी बोटलिङ गरी समितिलाई आर्थिक रूपमा सबल बनाउने
अविकरणीय स्रोतहरूको संरक्षण तथा नयाँ स्रोतहरूको पहिचानका लागि विज्ञ समूहको परामर्श लिने
लोकतान्त्रिक समूहले पारदर्शी र परिणाममुखी नेतृत्वको प्रतिबद्धता व्यक्त गर्दै उपभोक्ताहरूलाई मतदानमा सहभागिता जनाउन आग्रह गरेको छ।
प्रतिक्रिया