भाग दौड घटनामा विराट कोहलीविरुद्ध पनि प्रहरीमा उजुरी

शनिबार, २४ जेठ २०८२

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीविरुद्ध बैंगलुरुको  भाग दौड प्रकरणमा उजुरी पेस भएको छ । सामाजिक कार्यकर्ता एच.एम. वेंकटेशले दुर्घटनाको लागि कोहलीलाई दोष दिँदै उजुरी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 आरसीबीले पहिलो पटक आइपिएल उपाधि जितेपछि बुधवार विजयी उत्सव मनाउने क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडका क्रममा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।मिडिया रिपोर्टका अनुसार सामाजिक कार्यकर्ता वेंकटेशको उजुरीमा कोहलीविरुद्ध हाल कुनै एफआईआर दर्ता भने भएको छैन ।

यसअघि, भेणु नामक एक पीडितले कब्बन पार्क प्रहरी स्टेसनमा आरसीबी र कर्नाटक राज्य क्रिकेट संघविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् र भाग दौडको लागि उनीहरूलाई दोषी ठहराएको थियो ।

यसअघि, कर्नाटक प्रहरीले बिहीबार आरसीबी, कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्रालि र केएससीए विरुद्ध एफआईआर दर्ता गरेको थियो । त्यसपछि कर्नाटक राज्य क्रिकेट सङ्घले उच्च अदालतमा पुगेर चिन्नास्वामी स्टेडियम भाग दौड मुद्दामा दर्ता गरिएको एफआईआर खारेज गर्न अदालतलाई आग्रह गरेको थियो । 

केएससीएलाई कर्नाटक उच्च अदालतबाट ठुलो राहत मिल्यो। मुद्दाको सुनुवाइ गर्दै अदालतले राज्य क्रिकेट सङ्घका अधिकारीहरू विरुद्धको दण्डात्मक कारबाहीमा रोक लगायो ।यस घटनामा आरसीबी र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अधिकारीहरूलाई पक्राउ गरेर बयान लिइरहेको छ । 

पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निकिल सोसाले, डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका सुनील म्याथ्यू र किरण कुमार रहेका छन् ।विराटविरुद्ध सामाजिक सञ्जालमा पनि फ्यानहरुले आक्रोश व्यक्त गरेका छन् ।

 सामाजिक सञ्जाल एक्समा #ArrestKohli ट्रेन्ड गरिरहेको छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विराट जस्ता सिनियर खेलाडीले फ्यानको संवेदनशीलतालाई नबुझेको, स्टेडियम बाहिर फ्यानहरु मरिरहदा स्टेडियम भित्र जितको खुशी मनाइरहेको भन्दै आलोचना गरिरहेका छन् ।विराट भाग दौडको एक दिनपछि बिहीबार मुम्बई विमानस्थलमा श्रीमती अनुष्का शर्मासँग देखिएका थिए । 

यसपछि विराटको अनलाइनमा तीव्र आलोचनाको सामना गर्नुपरेको छ । घटना भएको एक दिनपछि विराट यति चाँडै निस्कनु असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार