युवालाई उद्यमशील बन्न प्रधानमन्त्री ओलीको आग्रह

शनिबार, २४ जेठ २०८२

 मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवालाई जागिर खोज्ने मानसिकताबाट बाहिर निस्केर उद्यमशील बन्न आग्रह गरेका छन्। मोरङको कटहरी गाउँपालिका–२ मा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिका लागि युवाहरूको सक्रिय उद्यमशीलता अनिवार्य रहेको बताए।

“काम भनेको केवल जागिर खाने मात्र होइन,” प्रधानमन्त्री ओलीले भने, “हामीले युवालाई स्वरोजगार र उद्यमतर्फ प्रेरित गर्नुपर्छ। उद्यमशीलता नै रोजगारी सिर्जनाको भरपर्दो माध्यम हो।” उनले आत्मनिर्भर राष्ट्र निर्माणका लागि सरकारी सहयोग मात्र पर्याप्त नहुने भन्दै समुदाय, नेतृत्व र जनसहभागिता अपरिहार्य भएको उल्लेख गरे।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जीवन विकास समाजको पहलमा सरकारी सहयोगबिनै २ अर्ब रुपैयाँको लगानीमा बनेको अस्पतालको प्रसंशा गर्दै यसलाई सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणको रूपमा चित्रण गरे। “योगेन्द्र मण्डलजस्ता जनप्रतिनिधिको सक्रियता र समाजको सामूहिक प्रयासले विपन्न समुदायलाई लक्षित गरेर यस्तो सुविधासम्पन्न अस्पतालको निर्माण हुनु गौरवको कुरा हो,” उनले भने।

प्रधानमन्त्रीले युवाहरूप्रति विशेषतः जोड दिँदै भने, “देशलाई अरूले बनाइदिँदैन, हामी आफैँले बनाउनुपर्छ। रोजगारीको अवसर आफैँ सिर्जना गर्नेतर्फ लाग्नुपर्छ। यदि एक्लै सकिँदैन भने साथीभाइ मिलेर सामूहिक रूपमा उद्यम सुरु गर्नुपर्छ।”

उनले बेरोजगारी, अशिक्षा र गरिबी जस्ता समस्याको समाधानका लागि सरकारले नीतिगत सहजीकरण गर्ने र जनताले उद्यमशीलताको बाटो समाउने हो भने समृद्धिको मार्ग सहज हुने दाबी गरे।

जीवन विकास सामुदायिक अस्पतालको उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा मोरङ क्षेत्र नम्बर ५ का सांसद तथा जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डल, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी र समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।

प्रधानमन्त्री ओलीले कार्यक्रमको समापनमा जनप्रतिनिधिहरू सिर्जनशील, जनमुखी र कर्मशील हुनुपर्नेमा पनि जोड दिए। “कुरा गरेर होइन, काम गरेर नै नेतृत्व सिद्ध हुन्छ,” उनले स्पष्ट रूपमा भने।

यसै कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका क्षेत्रमा यस्ता सामुदायिक पहलहरूले सकारात्मक असर पार्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार