काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ ओटा स्कुटर र १० ओटा मोटरसाइकल सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको हात्तीसार, बौद्ध, जम्बुडाँडा,सुकेधारा, गोकर्णेश्वर, कपन,मुड्खु, स्वयम्भू,ईमाडोल, लुभु, गठ्ठाघर र बालकोट लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २२ ओटा सहित ४ सय ६७ ओटा सवारी साधन गत साउन महिना देखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४४ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ६६ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा,०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२को आज सम्ममा ४ सय ६७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले अनुरोध समेत गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३,नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
प्रतिक्रिया