काठमाडौँ : आज नवरात्रको आठौँ दिन अर्थात् अष्टमी तिथि, महागौरीको पूजाआजा गरिन्छ।
दुर्गापूजाको आठौँ स्वरूप महागौरीलाई शक्तिशाली र पाप नाश गर्ने देवीका रूपमा पूजा गरिन्छ। शास्त्रीय मान्यताअनुसार यिनको उपासनाले पूर्वसञ्चित पाप नष्ट हुने मात्र नभई भविष्यमा हुने दुख–सन्तापसमेत टर्ने विश्वास गरिन्छ।
महागौरी सेतो वर्णकी, सेतो वस्त्र र गहना धारण गरेकी, वृषवाहनमा आसीन चार हातकी देवीका रूपमा वर्णन गरिएको छ।
यिनको दाहिने हातमा अभयमुद्रा र त्रिशूल छन् भने बायाँ हातमा डमरु र वरमुद्रा रहन्छ। स्वरूप शान्त, गोरो र पवित्र देखिने भएकै कारण देवीलाई “गौरी” भनिएको हो।
शिवपुराणका अनुसार बाल्यकालदेखि नै पार्वती (महागौरी) ले महादेवलाई पतिको रूपमा पाउन कठोर तपस्या गरेकी थिइन्। लामो तपस्याका कारण शरीर कालो भए पनि शिवले गंगाजलले स्नान गराएपछि उनी गोरी भएकी मानिन्छ। त्यसपछि देवीलाई “महागौरी” नामले पुकारिएको हो।
यस दिन सात्त्विक, राजस र तामस तीन किसिमका पूजाआजा गरिन्छ। सात्त्विक पूजामा जल, चन्दन, अक्षतसहित षोडशोपचारले पूजा गर्ने परम्परा छ भने राजस पूजामा पशुबलि र मदिरा चढाउने गरिन्छ। तामस पूजामा हिंसात्मक स्वरूपको बलि दिने परम्परा रहेको उल्लेख छ।
काठमाडौँ उपत्यकामा गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तशाली, बज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठहरूमा आज विशेष पूजाआजा र बलि दिइन्छ।
उपत्यकाबाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेको चण्डेश्वरी, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोकलगायत मन्दिरमा पनि ठूलो भीड लाग्ने गर्दछ।
पशुबलि नचढाउनेहरूले काँक्रो, घिरौँला, कुभिन्डो, मूला वा नरिवललाई प्रतीकात्मक बलि चढाउने गर्छन्।
यस दिन हतियार, कलपूर्जा र सवारी साधनलाई सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजा गर्ने परम्परा पनि छ। ती उपकरणलाई देवीको शास्त्रार्थ मानेर पूजा गर्ने चलन रहिआएको छ।
प्रतिक्रिया