काठमाडौँ : आश्विन शुक्ल नवमीका दिन आज देशभरका दशैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना भइरहेको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विशेष पूजा गर्ने वैदिक सनातन परम्परा छ।
मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले यिनीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूले सेवित गर्ने भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। नवदुर्गामध्ये अन्तिम अर्थात् नवौँ स्वरूपमा यिनीको पूजा गरिन्छ।
धार्मिक विश्वासअनुसार सिद्धिदात्रीको आराधना गरेमा मनोकामना पूरा हुन्छ। दुर्गाका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको उल्लेख विभिन्न पुराणमा छ। यी नाम स्मरणमात्र गरे पनि दुःख–कष्ट वा सङ्कटबाट मुक्ति पाउने विश्वास गरिन्छ।
यसअघि असोज ६ गते सोमबार घटस्थापनासँगै पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र अष्टमीका दिन महागौरीको आराधना गरिएको थियो। आज अन्तिम दिन नवौँ देवी सिद्धिदात्रीको विशेष पूजाआराधना हुँदैछ।
नवरात्रका नौ दिनभर घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवत लगायतका देवीस्तोत्रको पाठ गरिन्छ। यसरी देवीको पूजा–आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ।
नवरात्र सकिएपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म (१५ दिन) प्रसाद ग्रहण गर्ने परम्परा छ। यस वर्ष विजयादशमी असोज १६ गते बिहीबार परेको छ। दिनभर मान्यजनबाट टीका–प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
महानवमीका दिन शक्तिपीठहरूमा विशेष भीड लाग्ने गर्दछ। घर–घरमा पनि देवीको आराधना गर्दै बलि दिने परम्परा छ। यसरी आज धार्मिक, सांस्कृतिक र सामाजिक उत्साहका साथ महानवमी मनाइँदैछ।
प्रतिक्रिया