राजधानी भित्रिने १६ स्थान पहिरोको उच्च जोखिममा

शनिबार, १८ असोज २०८२
सांकेतिक फाईल

काठमाडौं : देशभर निरन्तर वर्षा जारी रहँदा पहिरो र सडक भासिँदा मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने प्रमुख मार्गसमेत प्रभावित हुँदा राजधानीको आवतजावतमा समेत कठिनाइ बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार छ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही ठाउँमा एकतर्फी आवागमन सञ्चालनमा छ ।

भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिक पहिरो खसेपछि आवतजावत रोकिएको छ । त्यस्तै, ललितपुरको बागमती गाउँपालिका–३ टाकुचेमा खसेको पहिरोका कारण कान्तिलोकपथ बन्द भएको छ ।

यसैगरी फर्पिङ–सस्नेरी मार्गअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा पहिरोले सडक पूर्णरूपमा रोकिएको छ । बिपी राजमार्गको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गा खण्डमा पनि आवागमन बन्द भएको छ ।

अरनिको राजमार्गमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको छ भने धुलिखेल खावामा र ५४ किलोमा खसेको पहिरोले सडक सम्पूर्णरूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोकिएको छ ।

प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, वैकल्पिक र सुरक्षित मार्ग रोज्न र स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह गरेको छ ।

यसैबीच, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम देखिएको छ । आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीले गरेको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख मार्गहरूका १६ बिन्दुमा उच्च जोखिम क्षेत्र पहिचान गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार