चौधरी समूहले भारतको लोकप्रिय ब्रान्ड बिकाजी नेपाल भित्र्यायो, ५० करोडमा बन्ने नेपाल प्लान्टको शिलान्यास

बुधबार, १२ कार्तिक २०८२

काठमाडौं : नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरिएको छ।

चौधरी ग्रुपको एफएमसीजी कम्पनी सिजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्यमा उक्त फ्याक्ट्री निर्माण गर्न लागेको हो।

बुधवार आयोजित भूमि पूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरे।

कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको पनि उपस्थिति रहेको थियो।

हालैको जेन जी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र तोडफोड भएका थिए। सिजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमा आगजनी गरी ध्वस्त पारिनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो।

उक्त घटनापछि ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाले नेपालप्रतिको सिजीको लगानी प्रतिबद्धतामा कुनै असर नपार्ने बताएका थिए।

त्यही घटनाको करिब डेढ महिनापछि चौधरी ग्रुपले नेपालमा नयाँ बहुराष्ट्रिय कम्पनी भित्र्याएको हो।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकिन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्स उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ।

बिकाजीको नेपाल प्लान्टमा पहिलो चरणमा करिब ५० करोड रुपैयाँ लगानी हुनेछ र यसबाट करिब ४ सय जनाले रोजगारी पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार