नेपालको बीमा क्षेत्र पछिल्ला दुई दशकयता तीव्र गतिमा विस्तार हुँदै आएको छ। जीवन बीमा उद्योगले केवल नागरिकको आर्थिक सुरक्षामा मात्रै नभएर देशको वित्तीय प्रणाली र रोजगारी सृजनामा समेत उल्लेखनीय भूमिका खेल्दै आएको छ। तर, यो क्षेत्रमा चेतना, विश्वास र दिगोपन कायम राख्न अझै धेरै गर्न बाँकी छ।
बीमा व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित अभिकर्ता र व्यवस्थापकहरू यस उद्योगका मेरुदण्ड हुन्। उनीहरूकै प्रयासले आम नागरिकमा बीमाप्रतिको बुझाइ बढ्दै गएको छ। आजको डिजिटल युगले बीमा बजारलाई प्रविधियुक्त बनाएको छ भने प्रतिस्पर्धा र नियमनका नयाँ मापदण्डहरूले यस क्षेत्रमा व्यावसायिकता र पारदर्शिता बढाइरहेका छन्।
करिब दुई दशकदेखि बीमा क्षेत्रसँग प्रत्यक्ष संलग्न नरेन्द्रकुमार राई आज नेपालकै प्रतिष्ठित बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कोशी प्रदेश प्रमुखका रूपमा कार्यरत छन् ।
सुरुमा पत्रकारिता क्षेत्रमा सक्रिय रहेका राईले सञ्चारबाट सिकेका जनसंपर्क, विश्वास र पारदर्शिताका सिद्धान्तलाई बीमा व्यवसायमा रुपान्तरण गर्दै लामो अनुभव हासिल गरेका छन् ।
पत्रकारिताबाट सुरु भएर जीवन बीमामा स्थायित्व बनाएका उनले बीमा क्षेत्रको विकास, चुनौती र सम्भावनाबारे आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गरेका छन्।
यिनै परिवर्तित अवस्थाबीच हामीले २२ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय तथा यसअघि पत्रकारितामा पनि लामो समय बिताएका राईसँग विस्तृत संवाद गरेका छौं।
तपाई २२ वर्षदेखि बीमा क्षेत्रमा रहनुभएको छ । सुरुवाती दिनहरूमा पत्रकारिता गर्नु हुन्थ्यो । बीमा क्षेत्रमा किन प्रवेश गर्नुभयो ?
मैले समाजमा भएको अन्यायको विरोध गर्न पत्रकारिता गरें । डेढ दशक गरेको पत्रकारिता पेसाबाट धेरै शिक्षा लिएँ । आवाजविहीनको आवाज बनेर धेरैलाई न्याय प्रोत्साहन पुगेको जस्तो लाग्छ ।
तर, पत्रकारिताबाट आर्थिक उन्नति गर्न नसकेर जीवन बीमा अभिकर्ता बन्न पुगें । बाई च्वाइस होइन, बाईचान्स । ६ वर्ष अभिकर्ता अनुभवपछि कर्मचारी बनेर निरन्तर बीमा कर्ममा लागिरहेको छु ।
त्यत्तिखेर बीमा क्षेत्रको मुख्य चुनौती र अवसर के थियो ?
मैले बीमा सुरु गर्दाताका बीमा सचेतता कम थियो । प्रविधिको अभाव हुने नै भयो । टेलिफोन पनि प्रशस्त थिएन । बीमा प्रस्ताव भेटेरै गर्नुपर्ने, बाटो राम्रो थिएन । सवारी साधन व्यक्तिगत थिएन । सार्वजनिक पनि प्रशस्त थिएन । अवसर पनि थाहा पाएर प्रवेश गरेको होइन ।
“राम्रो हुन्छ” भन्ने सल्लाहकारको विश्वासमा काम गर्न थालेको हो । यस पछि थाहा हुँदै गयो जति काम गर्न सक्यो उति धेरै अवसर बीमा क्षेत्रमा रहेछ । आज पनि प्रशस्त अवसर छ ।
कोभिड महामारीले बीमा बजारमा कस्तो प्रभाव पा¥यो ?
कोभिड महामारीले बीमा क्षेत्रमा चाहिँ सकारात्मक प्रभाव परेजस्तो लाग्छ । बीमा गर्नु पर्ने रहेछ भनेर धेरैले बुझेको महसुस गरेको छु । लामो लकडाउन खुलेपछि धेरैले जीवन बीमा गर्नुभयो ।
कोभिड पछि बीमा छोड्ने उल्लेखनीय रूप बढ्नु को कारण के हो ?
जीवन बीमा गर्नेमध्ये केही विमितले बिचैमा छोड्ने त पहिल्यै देखि नै चलिआएको हो । पछिसम्म पनि चलिरहन्छ । कोभिडपछि समर्पण केही बढेको सत्य हो । केही विमित आत्तिएर, आवेशमा आएर, हतोत्साहित भएर छोडेको पनि पाइन्छ ।
केही विमितको चाहिँ व्यापार, व्यवसायमा मन्दी आएर, प्रिमियम धेरै भएर बुझाउनै नसक्ने अवस्थाले पनि समर्पण गरेको छन् ।

ग्राहकले समर्पण माग्दा कम्पनीले के उपायहरू अपनाउँछन् ?
समर्पण गर्न आउने विमितलाई हामीले सकभर नछोड्न सम्झाउँछौँ । जीवन बीमाको महत्त्व बुझाउँछौ । उहाँले गर्नुभएको बीमायोजना र राइडरको सुविधाहरू बारे स्पष्ट पा¥र्छौ ।
कतिले महत्त्व बुझेर निरन्तरता दिनु हुन्छ । छोड्न नै चाहनेलाई नियम अनुसारको समर्पण मूल्य दिन्छौँ ।
समर्पण वृद्धिले कम्पनीको वित्तीय स्वास्थ्यमा कस्तो असर पु¥याउछ ?
बीमालेख समर्पण हुनु कम्पनीको लागि राम्रो हुँदै होइन । वित्तीय स्वास्थ्यमा नकारात्मक असर पर्छ । बीमा समर्पण हुँदा कम्पनी भन्दा धेरै विमितलाई घाटा हुन्छ ।
बीमा सरेण्डरमा अभिकर्ताको भूमिका र चुनौती के छ ?
व्यवसायीक अभिकर्ताले आफ्नो ग्राहकलाई राम्ररी सम्झाउने, बुझाउने र सेवा दिने गरेको कारण समर्पण कम हुन्छ । बीमा समर्पण हुँदा अभिकर्तालाई घाटा त हुन्छ नै बजारमा नकारात्मक सन्देश गई अविश्वास बढ्छ र थप काम गर्न गाह्रो पर्छ ।
नेपालमा जीवन बीमाको जनचेतना कस्तो छ ?
बीमा चेतना क्रमिक रूपमा बढ्दै गइरहेको छ । मैले व्यतीत गरेको दुई दशक अवधिमा धेरै परिवर्तन भएको छ । बीमा क्षेत्रबाट धेरैको जीविकोपार्जन भएको छ भने राज्यलाई पनि ठुलो योगदान गर्न सफल भएको छ । बीमाकर्मीहरु अझ जिम्मेवारीपूर्वक लागेर बीमाको महत्त्व स्थापित गर्न आवश्यक छ ।
जीवन बीमा ग्राहकलाई किन आवश्यक छ ?
एउटा सचेत व्यक्तिलाई जीवनयापन गर्न धेरै कुराहरूको आवश्यकता पर्छ । त्यस मध्ये जीवन बीमा पनि एक आवश्यक चीज हो । स्वस्थ्य राम्रो भएको बेला, कमाई भएको बेला बुढेसकालको लागि नसोच्दा वृद्धा अवस्थामा आर्थिक समस्या पर्न सक्छ ।
बचतको रूपमा बीमा पनि गर्नु राम्रो हो । बिचैमा भवितव्य परि बचतकर्तालाई केही भए आश्रीतजनले आर्थिक सुरक्षा पाउने छ । त्यसैले जीवन बीमा हरेक योग्य व्यक्तिलाई अति आवश्यक छ ।
हाल बीमा प्राधिकरणले अभिकर्ताको लागि नयाँ नियमहरू ल्याएको छ । यी नियमहरूले कम्पनी र अभिकर्ताहरूको कामकाजमा के फरक ल्याएको छन् ? नयाँ मापदण्ड पालन गर्दा चुनौती र अवसरहरू के छन् ?
अभिकर्ता सम्बन्धी नयाँ नियम नियमनकारी निकायको विज्ञ समूहले गहन अध्ययन, अनुसन्धान गरेर बीमा क्षेत्रको सुधार गर्न ल्याएको कुरामा दुई मत छैन । एक व्यक्तिले एक विमकमा मात्र काम गर्न पाउने व्यवस्थाले अभिकर्ता र कम्पनी दुवै पक्षलाई राम्रो भएको छ ।
विमकले आधारभूत तालिम दिएको भरमा लाइसेन्स दिने गरेकोमा हाल परीक्षा पनि उत्तीर्ण गर्नु पर्ने व्यवस्थाले दक्ष अभिकर्ता उत्पादनमा जोड पुगेको छ । अभिकर्ता बन्न शैक्षिक योग्यता पनि वृद्धि गरेको छ । यसले बीमा क्षेत्रको आकर्षण अझ वृद्धि भएको छ ।
नेपालमा जीवन बीमा क्षेत्र अरबौँको बजार हो । यति ठुलो बजारमा प्रतिस्पर्धा कसरी व्यवस्थापन गर्न सकिन्छ ? नेशलन लाईफले कोशी प्रदेशमा आफ्नो अग्रणी स्थिति कायम राख्न के रणनीति अपनाई रहेको छ ?
नेपालमा बीमा उद्योग क्रमिक वृद्धि हुँदै गइरहेको छ । यो क्षेत्रले राज्यको जी.डी.पी मा ४ प्रतिशतको योगदान गर्न सकेको छ । विना प्रतिस्पर्धा लगभग कुनै क्षेत्र छैन । हाम्रो सानो देशमा जीवन बीमा कम्पनी मात्रै १४ वटा छन् । प्रतिस्पर्धा त हुने नै भयो ।
स्वस्थ प्रतिस्पर्धाले सबैलाई राम्रो नै गर्छ । तर अनावश्यक प्रतिस्पर्धा गर्नु हुँदैन । कम्पनीहरू बीमाशुल्क सङ्कलनमा मात्र प्रतिस्पर्धी धारण राखेको पाइन्छ । धेरै बीमाशुल्क सङ्कलन गर्ने होडबाजीमा अण्डरराइटिङ कमजोर भयो भने कम्पनीलाई अप्ठ्यारो पर्न सक्छ ।
त्यसैले म चाहिँ अन्तर कम्पनी प्रतिस्पर्धामा नेशनल लाइफको श्रेणी सँग खासै मतलब गर्दिन । आफ्नो कम्पनीले प्रदेशको लागि दिएको व्यावसायिक लक्ष सकभर हेल्दी र क्वालिटी व्यापार गरेर नै पुरा गर्नेमा ध्यान दिन्छु ।
जीवन बीमा बिक्रीमा अभिकर्ताहरूको भूमिका महत्त्वपूर्ण छ । कोशी प्रदेशमा अभिकर्ताले के चुनौती सामना गरिरहेको छन् ? उनीहरूको क्षमता वृद्धि गर्न कम्पनीले कस्तो तालिम वा सहयोग गरिरहेको छ ?
हरेक कामको आ–आफ्नै खाले चुनौती हुन्छ नै । बीमा अभिकर्ता पनि चुनौतीपूर्ण पेसा हो । भौगोलिक आस्थाको विभिन्न काल परिस्थित अनुसारको चुनौती चिर्न सक्ने नै सफल र अब्बल अभिकर्ता बन्ने हुन् । उहाँहरूको क्षमता वृद्धि गर्न, हौसला बढाउन कम्पनीले स्तर, स्तरको तालिम र प्रोत्साहनको विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
जीवन बीमा कम्पनीको लागि अभिकर्ता नै आधार स्तम्भ हो भन्ने बुझेर नेशनल लाइफले अभिकर्ताहरूलाई विशेष महत्त्व दिने गरेको छ ।
आजको डिजिटल युगमा बीमा व्यवसायलाई प्रविधिले कसरी सहयोग गरिरहेको छ ? कोशी प्रदेशमा डिजिटल प्लेटफर्म, मोबाइल एप वा अनलाइन पोलिसी व्यवस्थापनले ग्राहक अनुभवमा के सुधार ल्याएको छ ?
बीमा व्यवसायलाई प्रविधिले धेरै सहज बनाएको छ । कम्पनीको कार्य सञ्चालन , अभिकर्ताले व्यवसाय गर्न सहज, छिटो भएको छ । सामाजिक सञ्जाल कै माध्यमबाट अभिकर्ताले घरै बसी देश, विदेशमा भएको व्यक्तिलाई बीमा विक्री गर्न पाएको छन् । ग्राहकहरूलाई पनि प्रविधिको माध्यमबाट बुझेर, आफ्नो लागि उपयुक्त बीमालेख खरिद गर्न, बीमा शुल्क बुझाउन सहज भएको छ ।
नेशनल लाइफको कोशी प्रदेशको आगामी ५ वर्षको रणनीति के छ ? बीमा ग्राहक बढाउन, अभिकर्ता सशक्त बनाउन के पहलहरू गर्ने योजना बनाउनु भएको छ ?
कम्पनीको प्रदेश स्तरीय छुट्टै रणनीति हुँदैन । केन्द्रले तय गरेको रणनीति ,निर्देशन प्रदेशमा कार्यान्वयन गराउँदै जाने हो । कर्मचारी, अभिकर्ता सशक्त बनाउँदै समय अनुसारको कार्यक्रम गर्दै अघि बढ्छौ ।
अन्तमा, आम नागरिकलाई जीवन बीमाको महत्त्व बारेमा के सन्देश दिन चाहनु हुन्छ ?
बीमा गर्न योग्य हरेक व्यक्तिलाई आर्थिक हैसियत अनुसार, पेसा व्यवसाय अनुसारको जीवन बीमा गर्नु आवश्यक छ । जसको कमाइमा आश्रित सदस्य छन् भने त्यस्तो परिवारको मुख्य व्यक्तिको जीवन बीमा अपरिहार्य छ ।
सम्झनुहोस् त आश्रयदाता
एक हप्ताको लागि घर छोड्दा – हप्ता दिनको बन्दोबस्त गरेर जान्छ ।
एक महिना लागि घर छोड्दा – महिना दिनको बन्दोबस्त गरेर जान्छ ।
एक वर्षको लागि घर छोड्दा – वर्ष दिनको बन्दोबस्त गरेर जान्छ ।
विना योजना कहिल्यै नफर्किने गरी गए ? – यो विषय सोच्नु पर्दछ ,त्यसको लागि बीमा गर्नुपर्छ ।
प्रतिक्रिया