मेचीनगरको जंगलमा जलेको गाडी आइतबारदेखि बेपत्ता सरोज शर्माको भएको पुष्टि

विहीबार, १३ कार्तिक २०८२

झापा । मेचीनगर नगरपालिका–१४ हातेमालो सामुदायिक वनभित्र आज बिहान जलेको अवस्थामा फेला परेको गाडी बेपत्ता सरोज शर्माको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, उक्त गाडी गएराति जंगलभित्र जलेको अवस्थामा भेटिएको थियो।

मेची राजमार्ग अन्तर्गत चारआली–चन्द्रगढी सडकखण्डबाट करिब २०० मिटर भित्रको जङ्गलमा जलेको अवस्थामा भेटिएको गाडीको नम्बर प्लेट समेत जलिसकेको प्रहरीले जनाएको छ। पछि सो गाडी झापाको मेचीनगर–१० का सरोज शर्माको भएको पुष्टि गरिएको हो। शर्मा आइतबारदेखि बेपत्ता रहेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार, गाडी कसरी र किन जलाइयो भन्नेबारे यकिन हुन बाँकी छ। उनले भने, “जलिरहेको अवस्थामा गाडी फेला परेको हो, आगजनी कसले र किन गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।”

हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलका अनुसार, स्थानीयले उक्त गाडीलाई जंगलतर्फ लैजाँदै गरेको देखेका थिए। केही बेरमै गाडीमा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यसबीच, बेपत्ता सरोज शर्माको अवस्था भने अहिलेसम्म अज्ञात रहेको प्रहरीले पुष्टि गरेको छ। शर्मा भेटिने प्रयासमा प्रहरीले खोजी कार्य अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार