प्रधानमन्त्रीको देशबासीलाई सन्देश : ‘तपाईंहरू एक्ला होइन, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्’

शनिबार, १८ असोज २०८२

काठमाडौं : देशभर बाढी, पहिरो र डुबानको जोखिम तीव्र बन्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले जनतासमक्ष विशेष सन्देश जारी गर्दै नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी प्राथमिकता रहेको बताएकी छिन् ।

शनिबार साँझ देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले जोखिमपूर्ण अवस्था र विपद्को घडीमा राज्यका सबै स्रोत–साधन नागरिकको सहयोगमा परिचालित हुने स्पष्ट सन्देश दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले भनेकी छिन्, “कुनै पनि कार्य गर्दा जोखिमको पूर्वआकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिनुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस् । तपाईंहरू यसमा एक्ला हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्।”

उनले हालको मौसमीय परिस्थिति अझै जटिल र जोखिमपूर्ण बन्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरिन् । “बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै गएको छ । निरन्तर वर्षाका कारण नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा पुगेको छ र धेरै ठाउँमा पहिरोको सम्भावना पनि उत्तिकै छ,” उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रशासनिक निकायहरू २४ सै घण्टा उद्धार र राहतका लागि तयारी अवस्थामा रहेका छन् । उनले विपद्को परिस्थितिमा पनि सरकारी संयन्त्रले उच्च मनोबलका साथ काम गरिरहेको बताइन् ।

सन्देशमार्फत उनले देशभरका नागरिकलाई आग्रह गर्दै भनिन्, “तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस् । राज्यका सबै संयन्त्र तपाईंहरूको सुरक्षाका लागि सक्रिय छन् ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार