धरान : सुनसरी जिल्लामा लगातार वर्षा भइरहे पनि हालसम्म कुनै ठूलो क्षति वा सडक अवरुद्धको घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार हाल जिल्लाभित्रका सबै राजमार्ग सञ्चालनमा छन् र ठूलो पहिरो गएको छैन । तथापि, सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको छ ।
मिश्रले भने, “लगातारको वर्षालाई ध्यानमा राख्दै विपद् व्यवस्थापन तथा उद्धार टोलीलाई पूर्ण रूपमा तयारी अवस्थामा राखिएको छ । धरान–भेडेटार सडकखण्डको निशाने डाँडा, बराहक्षेत्र–चतरा सडकखण्ड र बराहक्षेत्र मन्दिर जाने बाटो अत्यधिक पहिरो सम्भावित क्षेत्र भएकाले त्यहाँ यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ।”
प्रशासनले धरानको सर्दु, खर्दु, सुनसरी खोलालगायतका साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको चेतावनी पनि दिएको छ । त्यसैले नदी किनार र होचो भू–भागका बस्तीमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
त्यसैगरी, चतरास्थित सप्तकोशी नदीमा सञ्चालन भइरहेका मोटरबोट सेवा जोखिम न्यूनीकरण नभएसम्म रोक्न निर्देशन दिइएको छ । जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एस्काभेटर, लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई पनि निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार, शनिबार साँझ ६ बजेको मापनअनुसार सप्तकोशी ब्यारेजका १४ वटा ढोका खोलिएका छन् र नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ४६५५ क्युसेक रहेको छ ।
प्रवक्ता खतिवडाले भने, “सप्तकोशीमा बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि मात्र रातो बत्ती बालेर खतरा संकेत गरिन्छ । अहिले त्यो स्थिति आएको छैन, तर निरन्तर वर्षा भएकाले जलसतह कुनै पनि बेला बढ्न सक्छ, त्यसैले सबै स्थानीयवासी सतर्क रहनुपर्छ।”
हाल सुनसरीमा अवस्था सामान्य देखिए पनि प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन टोलीहरू उच्च सतर्क मोडमा रहेका छन् । जिल्लाभरका नदी, सडक र पहिरो सम्भावित क्षेत्रहरूको निगरानी निरन्तर भइरहेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया