कोशी प्रदेशमा यी राजमार्ग अझै अबरुद्ध : बिपी राजमार्ग सञ्चालन हुन सात दिन लाग्ने

सोमबार, २० असोज २०८२

काठमाडौँ : केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ ।

विभागले आइतबार साँझ सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ । राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।

यसैगरी, मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बिपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ ।

गत वर्ष असोज दोस्रो साताको बाढीले क्षति गरेपछि बिपी राजमार्गका करिब डेढ दर्जन स्थानमा ‘डाइभर्सन’ गरिएको थियो । यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम सुरु गरिने विभागले जनाएको छ ।

यस्तै, कान्तिलोकपथ सोमबार मात्र खोल्न सकिने अवस्था रहेको प्रवक्ता झाले जानकारी दिए । सङ्घीय राजधानीबाट बागमती प्रदेश राजधानी जोड्ने अन्य सडकमा पनि ठाउँठाउँमा पहिरोले समस्या भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार