इटहरी : झुम्का कारागारबाट भागेका तीन फरार कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार कैदीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको छ।
सुनसरीको झुम्का कारागारबाट भागेका धरान उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय जीवन श्रेष्ठ र धरान–१४ निवासी २० वर्षीय अस्मित कार्कीलाई क्रमशः अमरहाट र पत्रङबारीबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। दुवै जना लागूऔषध मुद्दामा सजाय भोगिरहेका थिए।
त्यस्तै, कारागारबाट फरार उदयपुरगढी गाउँपालिका–६ चिपचिपे निवासी ४२ वर्षीय भक्तबहादुर राई (भोलाराज)लाई बिहीबार बिहान ४:३० बजे नेपालटारस्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।
भक्तबहादुर वन मुद्दामा सजाय भोगिरहेका थिए र उनलाई प्रहरी चौकी नेपालटारमा राखिएको छ।
प्रहरीका अनुसार ती तीनै जनालाई कारागार चलान गरिने तयारी भइरहेको छ।
प्रतिक्रिया