बनियानी (झापा) : अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन्। बाढीले जिल्लाका विभिन्न स्थानका बालबालिकालाई असर पुर्याएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिए।
उनका अनुसार प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्रीको व्यवस्थापन भइरहेको छ र सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्था गर्न निर्देशन दिइएको छ।
बाढीले झापामा करिब चार हजार ५०० घरपरिवारलाई प्रभावित पारेको छ। तीमध्ये झण्डै तीन हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेका छन्। गत २३ गतेयता झापा गाउँपालिका–१ र २ का करिब एक हजार ७०० बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको प्रशासनले जनाएको छ।
बाढीपीडितका लागि राहतसँगै कृषि, पशुपालन र पूर्वाधार क्षेत्रमा भएको क्षतिको विवरण संकलनको काम भइरहेको छ। विपद्जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा खटिएको छ।
पानीजन्य रोग नियन्त्रणका लागि पानी शुद्धीकरण र शुद्ध खानेपानी ट्याङ्की स्थापना भइरहेको छ। राहत वितरणका लागि विभिन्न व्यक्ति, सामाजिक संस्था र व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेका छन्।
करिब चार हजार परिवारलाई वितरण गर्न सकिने गरी खाद्यान्नको व्यवस्था भइसकेको र अहिले राहत वितरणका लागि खाद्यान्नको अभाव नभएको प्रशासनले जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले ‘एकका लागि एक अभियान’सँग सहकार्यमा एकद्वार प्रणालीमार्फत बाढीपीडितलाई राहत वितरण गर्दै आएको छ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री विभिन्न दाताबाट प्राप्त भइसकेको छ, जसले दुई हजार परिवारलाई सहयोग पुग्नेछ। राहत प्याकेजअनुसार प्रत्येक परिवारलाई चामल एक बोरा, तेल एक लिटर, नुन दुई किलो, आलु पाँच किलो, दाल दुई किलो, पानी एक कार्टुन, म्याट दुई थान र कम्बल दुई थान वितरण गरिँदै आएको छ।
कनकाईमा चार करोडको क्षति
गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगरक्षेत्रमा करिब चार करोड रुपैयाँ बराबरको क्षति पुर्याएको कनकाई नगरपालिकाले जनाएको छ। कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको र करिब आठ सय मिटर सडक क्षतिग्रस्त बनाएको छ।
नगरपालिकाका अनुसार नदी नियन्त्रणका लागि कनकाई र बिरीङ नदीमा तटबन्धन भएकाले ठूलो क्षति हुन पाएन। नगरक्षेत्रका करिब ५० घरपरिवार प्रभावित भएका छन्।
विभिन्न सामाजिक संस्थासँग सहकार्यमा राहत वितरण भइरहेको र नगर कार्यपालिकाको बैठकबाट थप राहत कार्यक्रम ल्याउने तयारी भइरहेको कनकाई नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया