काठमाडौँ : १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल सकिन लाग्दासमेत देशको पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेसले आफ्नो नियमित महाधिवेशनका लागि ‘पापड बेल्न’ थालेको छ।
मंसिर मसान्तमा कार्यकाल समाप्त हुने वर्तमान केन्द्रीय समितिको बैठक आज (२८ असोज) बाट बस्दैछ। उक्त बैठकले पार्टीको आन्तरिक जीवन, पछिल्लो राजनीतिक उथलपुथल र सरकारले २१ फागुनका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्नेछ।
केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समितिको बैठक बसेको थियो। सो छलफलमा जेनजी आन्दोलनको प्रभावले कमजोर बनेको काँग्रेसलाई जनतामाझ नयाँ अनुहार र सोचका साथ लैजानुपर्ने विषय प्राथमिकतामा रहेको थियो। तर नियमित महाधिवेशनको सन्दर्भमा समेत पार्टीभित्र ध्रुवीकरण देखिएको छ।
डा. शेखर कोइरालाले दुई वर्षअघिदेखि नै समयमा महाधिवेशन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै आएका थिए। उनले अहिले पनि नियमित महाधिवेशनलाई नै प्राथमिकता दिएका छन्। तर यदि नियमित महाधिवेशन यो वा त्यो बहानामा टार्ने अवस्था आयो भने विशेष महाधिवेशनका लागि ५० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित अघि बढ्ने तयारी भइरहेको
उनका समूहका नेताहरूले बताएका छन्। कतिपयले हस्ताक्षर गरेर महामन्त्रीलाई नबुझाई बोकेरै बसेका छन्। संस्थापनइतर समूहका नेता कोइराला पक्षले विशेष महाधिवेशन प्राथमिकता दिन नहुने बताएका छन्।
विशेष महाधिवेशनका नाममा यही कार्यसमितिका सभापति र पदाधिकारीहरूले आफ्नो म्याद थप गर्न खोजेको आरोप लगाउँदै काँग्रेसको नियमित महाधिवेशन मङ्सिर मै गर्न सकिने केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बताएका छन्।
‘यस्तो परिस्थितिमा छोटो समयमै नियमित महाधिवेशनको तयारी गर्न पार्टीका सबै तहबाट लाग्नुपर्छ। सम्भव छ। यदि कुनै हालतमा नियमित नहुने अवस्था भए मात्रै विशेष महाधिवेशनबाट नयाँ नेतृत्वसहित नयाँ नीति लिएर आगामी चुनावमा जानुपर्छ,’ उनले भने, ‘नयाँ परिस्थितिअनुसार हाम्रा नीति, कार्यक्रम, नेतृत्व र कार्यशैली सबै बदल्नुपर्नेछ। रूपान्तरण महाधिवेशनले मात्र गर्छ।’
यद्यपि संस्थापन समूहका नेताहरूले नियमित महाधिवेशनका नाममा कार्यविधि थप्ने योजना बनाएको आरोप महामन्त्री गगन थापा समूहका नेताहरूले लगाएका छन्। ‘सकभर नियमित महाधिवेशन नै गर्ने हो।
यदि नियमित हुन नसक्ने अवस्था आयो भने देशभरका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन तयारी छ। विशेष महाधिवेशनमा जानुको विकल्प छैन,’ केन्द्रीय सदस्य प्रतिमा गौतमले भनिन्। संस्थापन पक्षका नेताहरूले भने विशेष महाधिवेशनमा जान नहुने स्पष्ट जवाफ दिएका छन्।
पार्टी पुनर्गठनका लागि वर्तमान केन्द्रीय समिति भङ्ग गरेर कोही नेतालाई कार्यवाहक तोक्नुपर्ने विषयमा समेत बहस सुरु भएको छ। काँग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाले केन्द्रीय समिति भङ्ग गरी कार्यवाहक सभापति तोक्न माग गरेका छन्।
उनले भने, ‘अब विशेष र नियमित महाधिवेशन भनेर अल्झिरहनुहुँदैन। नियमित महाधिवेशन गर्नैपर्छ। केन्द्रीय समिति विघटन गरेर एक जनालाई कार्यवाहक दिनुपर्छ। कार्यवाहक तोकेपछि उनैले महाधिवेशनको मिति तय गर्छन्। यस्तोमा मङ्सिर भित्र महाधिवेशन गर्न सकिन्छ।’
कार्यसम्पादन परामर्श समितिको बैठकले केन्द्रीय समितिको बैठक दुई दिनका लागि सार्न सिफारिस गरेको र सोहीअनुसार बैठकको मिति २८ गतेलाई सारिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए। संसद् विघटन असंवैधानिक भए पनि राजनीतिक दृष्टिकोणबाट निर्वाचनमा जाने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ।
‘छलफलमा काँग्रेसको नियमित महाधिवेशन विधिसम्मत ढङ्गले सबैको प्रतिनिधित्व हुनेगरी छिटोभन्दा छिटो गर्नुपर्ने भन्ने अधिकांश नेताहरूको मत रहेको छ,’ उनले भने।
पार्टीलाई जनतामाझ विश्वसनीय बनाउन नियमित महाधिवेशन नै उपयुक्त हुने नेताहरूको भनाइ छ। जेनजी आन्दोलनपछि पार्टीलाई पुनर्संरचित गर्नुपर्ने भएकाले केवल नेतृत्व परिवर्तनले मात्र पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन नसकिने युवा नेता भूपेन्द्रजंग शाहीले बताए।
‘नेपाली काँग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरणको खाँचो छ। विशेष महाधिवेशनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि तीन महिना लाग्छ।
विशेष महाधिवेशनमा पुरानै महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व मात्रै छान्ने हुँदा संरचनागत सुधार हुने अवस्था रहँदैन,’ उनले भने, ‘पार्टी रूपान्तरण हुँदैन। मङ्सिरमा कार्यकाल सकिने भएकाले मङ्सिर मै नियमित महाधिवेशनकै तयारी हुनुपर्छ।’
गाउँ तहदेखि क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म फ्रेस अनुहार लिएर जनतामाझ जाने सके मात्रै काँग्रेसमा रूपान्तरणको अनुभूति हुने उनले जिकिर गरे।
मङ्सिरमा हुनुपर्ने नियमित महाधिवेशन विधानतः एक वर्षपछि सार्ने विषयमा यसअघि नै सभापतिसहित पदाधिकारीबिच भद्र सहमति भएको थियो। तर पछिल्लो जेनजी आन्दोलनबाट राज्य प्रणाली र राजनीतिक दलहरू नै क्षतविक्षत बनेका छन्। यस्तो अवस्थामा पुरानै नेतृत्वबाट पार्टीलाई जनतामाझ लैजान सम्भव छैन भन्ने धारणा नेताहरूमा देखिएको छ।
जेनजी आन्दोलनपछि मुलुकको बिग्रँदो राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै मूलधारका दलसँगको समन्वयमा देशको सङ्कटपूर्ण अवस्थालाई संवैधानिक र कानुनी मार्गबाटै समाधान खोज्न काँग्रेसले आवश्यक पहल गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘मुलुकको राजनीतिक अवस्था अत्यन्त तरल छ। जेनजी आन्दोलनका नाममा देशका सबै संयन्त्र ध्वस्त भएका छन्। शान्ति, सुरक्षा र भूराजनीतिक विषयलाई समेत मिहिन ढङ्गले अध्ययन गरेर मूलधारका सबै राजनीतिक दललाई सँगै लिएर समस्या समाधान गरिनुपर्छ भन्ने नेताहरूको चासो र चिन्ता रहेको छ।’
आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया