 
                            मोरङ : मोरङको बुढिगंगा गाउँपालिका–२ आरती स्ट्रिप्स नजिक आज बिहान भएको सवारी दुर्घटनामा एक वृद्ध पुरुषको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय नेमुवाका अनुसार बिहीबार बिहान करिब ९ः३५ बजे विराटनगरबाट टंकीतर्फ जाँदै गरेको बा ४१ प ३२६४ नम्बरको मोटरसाइकलले सडक किनारमा मागीखाँदै हिँडिरहेका अन्दाजी ६० देखि ६५ वर्ष उमेरका एक पुरुषलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि बिराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो। तर, चिकित्सकले जाँच गर्दा बिहान ९ः४५ बजे उनलाई मृत घोषणा गरेको अस्पतालले जनाएको छ। मृतकको परिचय अहिलेसम्म खुल्न नसकेको र उनको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ बस्ने करिब ४० वर्षीय मनिष देवकोटाको निधार र टाउकोमा सामान्य चोट लागेको र उनको अवस्था स्थिर रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया