जेनजी विद्रोहपछि युवा नेता दोधारमा: पार्टी बचाउने कि नयाँ पुस्ताको पक्षमा उभिने?

आइतबार, २६ असोज २०८२

काठमाडौँ : जेनजी विद्रोहपछि राजनीतिक दलका युवा नेता अन्यौलतामा परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विघटित संसद्मा रहेका दल सम्बद्ध युवा तथा विद्यार्थी नेता जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा अझै अन्योलग्रस्त देखिन्छन्।

जेनजी विद्रोहपछि दोधारमा युवा नेता

जेनजी विद्रोहले सरकार परिवर्तन र नयाँ राजनीतिक माहौल निर्माण गरेपछि जेनजी लगायत ‘पछिल्लो पुस्ताका पक्षमा उभिँदै पार्टी बचाउने कि नेतृत्वको पक्षमा उभिने?’ भन्ने अन्योलमा छन्।

जेनजी आन्दोलनले उठाएका एजेन्डा र सामाजिक सञ्जालमा बढेको आक्रोश बुझेका युवापुस्ताका नेताले गत २३ भदौअघि र त्यही दिन आफ्ना पार्टी नेतृत्वलाई नैतिक दबाब दिन सामाजिक सञ्जालमा सन्तुलित ‘स्ट्याटस’ लेख्नेदेखि सामाजिक सञ्जाल खोल्नसमेत आग्रह गरेका थिए।

आफ्ना पार्टीका नेताले ध्यान नदिएकै कारण राजनीतिक क्षति व्यहोरेको समीक्षा गरिरहेका उनीहरू ‘खुलेर पुस्तान्तरण पक्षमा उभिने कि यथास्थितिमा पार्टी र नेताको रक्षा गर्ने?’ भन्ने अन्योल स्पष्ट देखिएको छ।

‘आन्दोलनको पहिलो दिन गत २३ भदौको अवस्थाबाट भावनात्मक रूपमा जेनजी पुस्तासँग सहमत भएको’ भन्दै सामाजिक सञ्जालमा स्ट्याटस तथा भिडियो सन्देशसमेत दिएका दलका युवा तथा विद्यार्थी नेता अहिले पार्टीको पुरानो पुस्ताले निर्माण गरेको ‘षड्यन्त्र’को भाष्यमा सहमत भएर ‘षड्यन्त्र’लाई परास्त गर्न पार्टी र मूल नेतृत्वको बचाउका लागि समर्पित हुने अवस्थामा पुगेको देखिन्छ।

नेपाली काँग्रेसका दुई महामन्त्रीले नेतृत्व हस्तान्तरण बहस चर्काएपछि उनीहरू पछाडिका युवा नेता उदयशम्शेर राणा, जीतजंग बस्नेत, कुन्दन काफ्ले, नैनसिंह महर व्यवस्था मास्ने षड्यन्त्र भएकाले जेनजीले भनेजस्तो युवापुस्तामा नेतृत्व हस्तान्तरण सम्भव नहुने निष्कर्षमा पुगेका छन्।

नेकपा एमालेका सचिव योगेश भट्टराईबाहेक अरूले आम युवा पुस्तालाई सम्बोधन गरेर जेनजी आन्दोलनको भावनाअनुसार रूपान्तरण हुने प्रतिबद्धता जनाएका छैनन्। सामान्य घटनामा ‘स्ट्याटस’ लेखेर भावुक हुने एमालेका युवापुस्ताको प्रतिनिधित्व गर्ने नेताले जेनजी आन्दोलनका शहीदलाई ‘श्रद्धाञ्जली’समेत भनेका छैनन्।

एमालेमा युवापुस्ताबाट अगाडि सारिएका विघटित संसद् का प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको राज्य संयन्त्र भीडले चलाइरहेको बताएका छन्। युवा पृष्ठभूमिबाट उदाएका महेश बस्नेतले त जेनजी आन्दोलनलाई खुला चुनौती दिएर अभियान नै चलाइरहेका छन्।

एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले पार्टी र नेतृत्व रक्षाका लागि जोखिम मोलेर ‘जेनजी आन्दोलनलाई उक्साएको’ भन्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगर प्रमुख बालेन शाहविरुद्ध मुद्दा हाल्न पुगिसकेका छन्।

नेकपा माओवादीमा त जेनजी आन्दोलनलाई स्वयं अध्यक्ष प्रचण्डले नै भावनात्मक रूपमा स्वामित्व ग्रहण गर्दै केन्द्रीय समिति विघटन गरी नयाँ भावनाअनुसारको राजनीतिक वातावरणको नेतृत्व गर्न भन्दै आफ्नै नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरेका छन्।

माओवादीको युवा पुस्ताको नेतृत्व गरिरहेका माधव सापकोटा ‘सुबोध’ले पनि प्रतिशोधका आधारमा कसैलाई दुःख दिने नियत राज्यले नगरोस् भन्दै वर्तमान सरकारलगायतलाई खबरदारी गरिरहेका छन्।

उनीसहितका युवापुस्ताको प्रतिनिधित्व गर्ने नेता ‘पुस्तान्तरण एजेन्डा’ सुरक्षित गर्न र नयाँ नेतृत्व विषयमा बोल्न सकेका छैनन्। विगतमा युवापुस्ताका लागि निरन्तर बोल्ने लड्ने गरेका सापकोटा, सरल सहयात्री, दीपशिखालगायतका युवा पनि अध्यक्ष प्रचण्डको सुरक्षाका लागि कमान्ड व्यवस्थापनमै सक्रिय देखिएका छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमति भए तत्कालै कार्यवाहक दिनसमेत सक्ने सन्देश दिएको अवस्थामा कांग्रेसभित्रका गुट–उपगुट विवादले पुस्तान्तरण विषय यसै रोकिने सम्भावना बढेको छ।

पुस्तान्तरण बहस उठाएका दुई महामन्त्रीलाई पार्टी विभाजनको समेत आरोप लागिसकेको अवस्थामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत इतिहास बोकेको पार्टी र पुराना नेताको पक्षमा उभिएर आफ्नो अभियान स्थगन गर्ने वा आउँदो पुस्ताको एजेन्डाका लागि पुस्तान्तरण बहसमा उभिने भन्ने अन्योलमै छन्।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार