काठमाडौँ: ललितपुरमा जारी एमाले केन्द्रीय समिति बैठकमा नेतृ उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलनका घटनाबारे तीखा प्रश्न उठाएकी छन्।
उनले आन्दोलनका क्रममा भएको जनधनको क्षति र हत्या–आगजनीको नैतिक जिम्मेवारी कसले लिने भन्ने जिज्ञासा राखेकी हुन्।
राजनीतिक प्रस्तावमाथि धारणा राख्दै तिम्सिनाले भनिन्, ‘अस्ति भर्खरै स–साना नानीहरूको कत्लेआम भयो, खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो— यसको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवलदारले ? प्रहरी आइजिपीले ? कि तत्कालीन प्राधिकारले कमरेड ?’
अध्यक्ष ओलीले एमालेविरुद्ध ‘विदेशी शक्तिहरूले प्रतिक्रान्तिको षड्यन्त्र गरेको’ भन्ने दाबी गरेका प्रसङ्गमा तिम्सिनाले त्यसको प्रमाण माग्दै थपिन्, ‘कुन–कुन विदेशी निकाय हुन् नेकपा एमालेविरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै दूतावासका अधिकारीहरूलाई बोलाएर कुरा गर्न सक्छौँ ?’
२०७९ सालको निर्वाचनपछि पार्टीभित्र ‘सक्किने कि सच्चिने’ भन्ने बहस चलेको स्मरण गराउँदै तिम्सिनाले अहिले जेनजी आन्दोलनपछि देश नै ‘सक्किने मोडमा पुगेको’ भन्दै चिन्ता व्यक्त गरिन्।
उनका शब्दमा, ‘आजको जेनजी आन्दोलनले एमालेका परम्परागत नेतृत्व र पुस्तालाई बिदा दिने माग राखेको हो, त्यसलाई अब बेवास्ता गर्न सकिँदैन।’
प्रतिक्रिया