जनकपुर : हिन्दू धर्मावलम्बीले निष्ठापूर्वक मनाउने छठ पर्वको तयारी देशभरि पूरा भएको छ। विशेषगरी तराई–मधेश क्षेत्रमा यो पर्व अत्यन्तै महत्वका साथ मनाइन्छ भने अन्य भूभागमा समेत स्थानीय समुदायले आफ्नो तरिकाले पर्व मनाउने प्रचलन छ।
मधेस प्रदेशका आठै जिल्ला—धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सा—मा सहरी तथा ग्रामीण क्षेत्रमा नदी, नहर, ताल, पोखरी तथा इनारमा छठको घाट निर्माण कार्य सम्पन्न भइसकेको छ। कोरोनाकालदेखि कतिपय घरपरिवारले आफ्नो घरको छतमा जलाशय बनाएर पनि छठपूजा गर्ने गरेका छन्।
जनकपुरधामस्थित गङ्गा सागर पोखरी छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले यस वर्षका घाटहरू विगतको तुलनामा व्यवस्थित र सिङ्गारिएका बताएका छन्।
छठ पर्व वर्षमा दुईपटक—कात्तिक र चैत—मनाइन्छ। पण्डित सूर्यकान्त झाका अनुसार कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने यस पर्वलाई तराई–मिथिलाञ्चल क्षेत्रमा छठी महापर्व पनि भनिन्छ।
छठ पर्व चार दिनसम्म चल्छ। पहिलो दिन व्रतालुहरूले नुहाई धुवाई शुद्ध भएर पूजन सामग्री तयारी गर्छन् र विशेष खाजाहरू ग्रहण गर्छन्।
दोस्रो दिन खरना मनाइन्छ, जसमा व्रतालु निर्जल रहेर खिर, रोटी र पुरी चढाएर आफन्तसहित खुवाउँछन्। त्यसपछि ३६ घण्टा लामो निर्जल व्रत सुरु हुन्छ, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
यसैबीच छठ पर्वमा रोजगारी वा अन्य कारणले घरबाहिर रहेका युवायुवती, बालबालिका, वृद्धवृद्धा र आफन्तजनले आ–आफ्ना घरमा पुगेर खुसी साटासाट र आवश्यक सहयोग गरिरहेका छन्। पूजा सामग्रीको किनमेल, घरआँगन सजावट, लिपपोत, बाटोघाटो सरसफाइ लगायत काम धमाधम भइरहेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा विशेष योजना अघि सारेको छ।
प्रतिक्रिया