एनसेलको फोरजी सेवा विस्तार तीव्र: १० दिनमा २० नयाँ टावर सञ्चालन

बुधबार, १२ कार्तिक २०८२

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना सेवाको विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत पछिल्ला १० दिनमै देशका विभिन्न स्थानहरूमा २० नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यससँगै ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन पाउने भएका छन् ।

एनसेलका अनुसार नयाँ टावरहरु मधेस, कोशी र बागमती प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा ल्याइएका छन् । मधेस प्रदेशमा मात्रै १३ नयाँ टावर जडान गरिएका छन्, जसअन्तर्गत बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर तथा रौतहटको यमुनामाई र माधव नारायण सामेल छन् ।

त्यसैगरी कोशी प्रदेशमा सुनसरीका इनरुवा, बर्जु, हरिनगर र गढीमा चार र मोरङका वबियाविर्ता र मजारे गरी ६ नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक नयाँ टावर सञ्चालनमा ल्याइएको छ ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार, डिजिटल कनेक्टिभिटी विस्तार गर्ने लक्ष्यअनुसार कम्पनीले छोटो अवधिमै २० नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा पहुँच विस्तार गरेको हो । “आगामी दुई दिनभित्र हामी थप १० नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौं, जसले हाम्रा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्नेछ,” दत्तले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि रोकिएको सहजीकरण सहज बनाइसकेपछि एनसेलले चाडपर्वको बेला समेत टावर विस्तार अभियानलाई तीव्रता दिएको हो ।

यसअघि उपकरण आयातमा बन्देजको बेला पनि एनसेलले आफ्ना पुराना उपकरण पुनःप्रयोग गर्दै देशभर ४० भन्दा बढी नयाँ टावर जडान गरी सेवा विस्तार गरेको थियो । कम्पनीले अबको दुई महिनाभित्र सबै प्रदेशमा १७० भन्दा बढी नयाँ टावर जडान गर्ने योजना समेत अघि सारेको छ ।

फोरजी सेवा विस्तारको अभियान अन्तर्गत एनसेलले जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको हो, जुन हाल ७७ वटै जिल्लामा विस्तार भइसकेको छ । हाल एनसेलको फोरजी सेवा देशको कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार