नारायणगढ : रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगरको टिकौली चौरमा रत्नगर महोत्सव –२०८२ आयोजना हुने भएको छ ।
आज रत्ननगरको सौराहामा आयोजित पत्रकार सम्मेलनमा हरेक दुई–दुई वर्षमा आयोजना हुँदै आएको रत्ननगर महोत्सवको १३ औँ संस्करण स्थानीय आर्थिक गतिविधि बढाउन महत्वपूर्ण हुने विश्वास सहित आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
रत्न नगरपालिका–टिकौली चौरमा आयोजना हुने रत्ननगर महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २५ देखि आगामी माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरीले महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिसहित राष्ट्रिय, अन्तरराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब २५० स्टल रहने जानकारी दिए । चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैया भन्दा बढी कारोबार हुने अनुमान गरिएको समेत उनले बताए ।
कृषि उपजलाई प्राथमिकतामा राख्दै कृषि प्रदर्शनी, रैथाने बालीको प्रोत्साहन तथा बजारीकरणमा विशेष जोड दिइएको गिरीले जानकारी दिए । ‘बिर्सनु हुँदैन बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत स्वाद’ भन्ने मूल नारासहित विभिन्न जातजातिका परम्परागत घर तथा संस्कृतिको झल्को दिने संरचना निर्माण गरिने उनले बताए ।
महोत्सवका अवसरमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव–२०८२’ आयोजना गरिनेछ । साथै महको छुट्टै परिसर रहने महोत्सवमा ‘दोस्रो चितवन मह उत्सव–२०८२’ पनि समावेश गरिने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ चितवन मौरी जोनको समन्वयमा महको उपयोग, जनचेतना र बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले महको प्रवद्र्धन समेत गरिने जनाइयो ।
महोत्सवमा रोजगार मेला, जनकपुरको रामजानकी गेटको झल्को तथा अन्य विभिन्न आकर्षण पनि समावेश गरिनेछ । सौराह प्रवेशद्वार नजिकै आयोजना हुने महोत्सवको आयोजना रत्ननगर उद्योग वाणिज्य सङ्घले गर्न लागेको हो भने रत्ननगर नगरपालिका महोत्सवको संरक्षक रहेको छ ।
प्रतिक्रिया