बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता दर्शक आकर्षणमा सफल बनेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता हेर्न स्थानीयदेखि आसपासका जिल्लासम्मका दर्शकहरूको भीड रंगशालामा देखिएको छ । महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीहरूको प्रतिस्पर्धाले दर्शक संख्या उल्लेख्य रुपमा बढाएको बताइएको छ ।
आयोजक झापा महिला फुटबल प्रतियोगिता समितिका अध्यक्ष सन्तोष थोप्राले भने, “दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी दिएको छ । महिला फुटबललाई अझ सबल र सुदृढ बनाउने हाम्रो लक्ष्य हो । टिकट बिक्रीबाट संकलित रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा खर्च हुनेछ ।”
टिकट बिक्री विवरणअनुसार क्वार्टर फाइनलका तीन खेलबाट ९ लाख ७० हजार रुपैयाँ र अन्तिम क्वार्टर फाइनलबाट १ लाख ७४ हजार रुपैयाँ संकलन भएको हो । प्रतियोगिताको प्रारम्भिक चरणमै रंगशाला भरिने अवस्था देखिएको थियो, विशेषगरी विभागीय टोलीले खेलेका खेलमा दर्शक संख्या बढी रहेको आयोजकले जनाएको छ ।
आज र भोलिका सेमिफाइनल खेलका लागि सामान्य टिकट दर क्रमशः २०० र ३०० रुपैयाँ तथा भिआइपी टिकट दर १,००० रुपैयाँ तोकिएको छ । हरेक दिन दुईजना भाग्यशाली दर्शकका लागि विशेष उपहारको व्यवस्था पनि गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते दुधे रंगशालामै हुने बताइएको छ ।
प्रतिक्रिया