काठमाडौँ : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले उक्त आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, साथै संस्थाको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधनहरू समेत सर्वसम्मत पारित गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकमा बिपी एशोसिएट्स, काठमाडौँलाई नियुक्त गर्ने निर्णय पनि सभाले गरेको छ।
साधारण सभामा रिक्त रहेको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमा उदयनारायण बराल, मदन खतिवडा, विजयकुमार दाहाल र डा. मनीष अर्याललाई निर्वाचित गरिएको छ।
साधारण सभा पश्चात् बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा पुनः उदयनारायण बराललाई सर्वसम्मत रूपमा चयन गरेको छ।
बराल विभिन्न सामाजिक सङ्घ–संस्थामा सक्रिय व्यक्तित्व हुन्। उनी लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५–सी का निवर्तमान क्याबिनेट सेक्रेटरी समेत हुन्।
बैङ्क तथा वित्तीय संस्था, औषधि उद्योग र सामाजिक सेवामा लामो अनुभव भएका बरालले ग्रामीण क्षेत्रका गरिब तथा निम्न–मध्यम वर्गीय परिवारहरूलाई वित्तीय पहुँच पुर्याउने लक्ष्यसहित गुराँस लघुवित्तको नेतृत्व गर्दै आएका छन्।
कोशी प्रदेश कार्यक्षेत्र रहेको गुराँस लघुवित्तले हाल १३ जिल्लाका ३६ शाखा कार्यालयमार्फत करिब २४ हजार परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बरालको नेतृत्वमा संस्थाले आगामी दिनमा अझ व्यवस्थित, दिगो र समावेशी वित्तीय सेवामा ध्यान केन्द्रित गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया