विराटनगर । कोशी प्रदेशलाई पनि स्थानीय तहका लागि प्रयोग हुने विवरण प्रणाली (पिआइएस–पोर्टल) को पहुँच औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
आज बिहीबार राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव एकदेव अधिकारीबीच यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। उक्त हस्तान्तरण कार्यक्रम प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलको उपस्थितिमा सम्पन्न गरिएको थियो।
कर्मचारी विवरण प्रणालीमा आबद्धतासँगै कोशी प्रदेशका १३७ वटा स्थानीय तहमा कार्यरत ४ हजार ७ सय ४६ जना समायोजित कर्मचारी तथा अन्य सेवाका ३०३ जना कर्मचारी प्रत्यक्ष लाभान्वित हुने भएका छन्। साथै, प्राविधिक कारणले प्रणालीमा आबद्ध हुन नसकेका कर्मचारीलाई समेत अब आबद्ध हुने अवसर प्राप्त हुने भएको छ।
स्थानीय तहको कर्मचारी विवरण प्रणालीको पहुँच पाएकोसँगै अब कोशी प्रदेश सरकारले आफ्ना प्रादेशिक तथा स्थानीय तहका कर्मचारीहरूको सम्पूर्ण विवरण र सेवा–सम्बन्धी जानकारी आफैं अद्यावधिक गर्न सक्ने भएको छ।
कार्यक्रममा बोल्दै महानिर्देशक पोखरेलले राष्ट्रिय किताबखानाले एकीकृत कर्मचारी विवरण प्रणालीको संरक्षण गर्ने र हस्तान्तरित प्रणालीको निरन्तर मर्मत, प्राविधिक सहयोग तथा आवश्यक परे अनुसार परिमार्जन गर्ने जिम्मेवारी किताबखानाको हुने बताए।
यससँगै देशका सबै प्रदेशमा स्थानीय तहका मानव स्रोत व्यवस्थापन प्रणालीलाई डिजिटल माध्यमबाट एकीकृत गर्ने प्रयास नयाँ चरणमा प्रवेश गरेको मानिएको छ।
प्रतिक्रिया