जेनजी आन्दोलनमा पहिलो गोली खाएर ढले विमल : परिवार भन्छन्,सहिद घोषणा गरियोस्

शनिबार, २८ भदौ २०८२

काठमाडौँ : गोरखा जिल्ला, बारपाक सुलिकोट ५ घर भई हाल काठमाडौँमा बस्दै आएका २२ वर्षीय विमलबाबु भट्ट संसद् भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन् ।

उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए । आन्दोलन सफल भयो तर उनी फर्किएनन् ।

Web Post (6)

उनी कहिल्यै घर फर्किँदैन भन्ने परिवारले कल्पना समेत गरेको थिएनन् । विमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन । एउटा टिकटक भिडियोमा आफ्नो दाइलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन् ।

उनकी बहिनीले भनिन्, ‘दाइलाई गोली लागेको थाहा पनि थिएनन् । एक जना दिदीले पहिलो गोली लाग्ने जेनजी भनेर टिकटकमा भिडियो राख्नु भएको रहेछ । त्यहीबाट थाहा पाएर म अस्पतालसम्म पुगेको हुँ ।’

साथै, उनले आफ्नो दाइले ढुङ्गा पनि नहानेको साइडमा बसेको अवस्थामा पनि गोली हानेको भन्दै खुट्टा तिर गोली हानेको भए बाच्ने मेरो दाइलाई छातीमा नै गोली हानेर मारेको पनि उनको दाबी रहेको छ ।

विमल आफू आन्दोलनमा गएपनि ढुंगामुढा गर्न उत्रिएका थिएनन् । आन्दोलनमा नारा लगाइरहेका थिए तर छातीमै गोली बर्साइएको बहिनीले सुनाइन् ।

Photo (1) (18)

‘मेरो दाइको हातमा ढुङ्गा पनि थिएनन् । साइडमा बसेको थियो रे । साइडमा बसेको मान्छेको छातीमा गोली हानियो । उनीहरूले खुट्टातिर पनि गोली हान्न सक्थे तर छातीमै बर्साए । खुट्टामा लागेको भए मेरो दाइ ज्यूँदै हुन्थ्यो कि’ उनले भनिन् ।

‘दाइको मृत्युका बारेमा अहिलेसम्म सरकारको तर्फबाट केही अभिव्यक्ति आएको छैन् । सरकारले गर्ने कामहरू पूरा गर्छ होला भन्ने आशामा छौँ,’ उनी आशावादी छिन् ।

विमल परिवारको तीन छोरा मध्ये कान्छो थिए । घरमा सबैको प्यारो थिए । आमा मानसिक रोगको बिरामी हुुँदापनि बुबाले खेती किसानी गरेर काबिल बनाएका छोरा थिए । अब उनका बुबाले शव कसरी हेर्लान् र उठाउलान् ?

सरकारी पक्षबाट गोली लागेर मृत्यु भएका विमलको शवलाई पोस्टमार्टम गरेर टुक्रा टुक्रा पार्ने पक्षमा आफूहरू नरहेको भाउजू गोमा भट्टको भनाइ छ ।

उनले भनिन्, ‘पोस्टमार्टम गर्ने पक्षमा हामी छैनौ । किनभने सरकारी पक्षबाट गोली हानेर उहाँको हत्या भएको छ । मरिसकेको मान्छेलाई किन टुक्रा टुक्रा पार्ने ? त्यस्तो शव आमाबाबुले कसरी हेर्ने ? ६ दिन बितिसक्दा पनि आमालाई छोराको मृत्यु भएको कुरा थाहा छैन ।’

मृत्यु भएको ६ दिन बित्दा पनि शव हेर्न नपाएको भन्दै उनलाई सहिद घोषणा गरेर उचित क्षतिपूर्ति दिनुपर्ने उनले माग राखेकी छिन् ।

Photo (8) (15)

‘जेनजीको आन्दोलनमा सबैभन्दा पहिला गोली खाने युवा हो । हामीले अहिलेसम्म पनि हेर्न पाएका थिएनौँ, भर्खरै देख्न पायौँ । केही भन्नु छैन् । मात्र सहिद घोषणा हुनुपर्छ र उचित क्षतिपूर्ति पाउनुपर्छ । गोली हान्ने अपराधीलाई पनि सजाय हुनुपर्छ ।’

मामाको घरबाट निस्किनुअघि विमलले खुलेरै भनेका थिए, ‘म जेनजी आन्दोलनमा जान लागेको भन्दा मामाले सम्झाएका थिए,‘नजाऊ भान्जा, त्यहाँ गएर केही हुन्न ।’ विमलले भने ‘हामी नगए, को जान्छ ? हामीले देश नबनाए अब कसले बनाउँछ ?’

 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार