इलाका प्रहरी कार्यालय सुन्दरपुरको नयाँ भवन निर्माण सुरु

सोमबार, ०१ मंसिर २०८२

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाईमा रहेको सुन्दरपुर इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ। संघीय सरकारले अढाई करोड रुपैयाँ विनियोजन गरेपछि भवन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।

सरकारले स्वीकृति दिएसँगै निर्माण कार्य सूर्यकुण्ड इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले लिएको छ। टोखा–४, काठमाडौंस्थित उक्त निर्माण कम्पनीले मु.अ. करसहित २ करोड ४१ लाख ५५ हजार ७ सय ४२ रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको छ।

अढाई तले नयाँ भवनमा पहिलो र दोस्रो तलामा ४–४ वटा तथा तेस्रो तलामा २ वटा गरी कुल १० कोठा रहने छन्। निर्माण कम्पनीले १६ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ।

सुन्दरपुर इलाका प्रहरी कार्यालय शिवाईको नाममा रहेको ६ कट्ठा साढे दुई धुर जग्गामै भवन बन्ने वडाध्यक्ष तुलसीराम ढकालले जानकारी दिए। उनका अनुसार सुन्दरपुर इलाकाको नाममा सुन्दरपुरमा पनि ८ कट्ठा जग्गा रहेको छ, जुन अहिले खाली अवस्थामै छ।

नयाँ भवन निर्माणको कार्य सुरु गर्ने रूपमा सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले शिलान्यास गरेका छन्। स्थानीयको उल्लेख्य उपस्थितिमा गरिएको शिलान्यास कार्यक्रममा उनले नेपाल प्रहरीको प्रक्रियाअनुरूप निर्माण कार्य अघि बढाइने बताए।

चापागाईंका अनुसार निर्माण कार्य कसरी हुँदैछ भन्ने विवरण जिल्ला प्रहरीलाई थाहा नहुने भए पनि कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिने इन्जिनियरहरूको टोलीले सबै प्राविधिक अनुगमन गर्नेछ। उनले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न तथा तोकिएको समयमा निर्माण सम्पन्न गर्न आग्रह गरे।

नयाँ भवन निर्माण हुने भएपछि स्थानीयवासी हर्षित छन्। मधेस प्रदेशसँग सीमा जोडिएको संवेदनशील क्षेत्रमा प्रहरी सेवा प्रभावकारी बनाउन प्रहरी निरीक्षकको दरबन्दी कायम गरिदिन उनीहरूले प्रहरी उपरीक्षक चापागाईंसमक्ष अनुरोध गरेका छन्। स्थानीय देवनारायण चौधरीका अनुसार सुरक्षाको दृष्टिले निरीक्षक दरबन्दी आवश्यक रहेको र यसका लागि स्थानीय समुदाय एकढिक्का भई आवाज उठाइरहेको छ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार