काठमाडौँ : जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी प्रतिनिधिहरूले नै राजीनामा दिन दबाब दिएका छन्। जेनजीका मुख्य माग सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै आन्दोलनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गरेका छन्।
बिहीबार जेनजी आन्दोलनमा संलग्न २३ एलायन्सका प्रतिनिधि, घाइते तथा शहीद परिवारका तर्फबाट राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाई जेनजीकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरिएको छ।
यसैबीच नेकपा एमालेले पनि संस्थागत रूपमा प्रधानमन्त्री तथा सरकारविरुद्ध सडक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ। राजीनामा दबाबसँगै २३ समूहले जेनजी आन्दोलनका प्रमुख मागहरू सम्बोधन गर्न प्रधानमन्त्री कार्की असफल भएको र सरकार दिशाविहीन अवस्थामा पुगेको बताएका छन्।
‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको साटो सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एकथान निर्वाचन गराउनेतर्फ मात्र केन्द्रित हुँदा सरकार दिशाविहीन देखियो,’ ज्ञापनपत्रमा उल्लेख छ।
मुलुकमा भएका ठुला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही गर्ने, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री व्यवस्था ल्याउन संविधान संशोधन गर्ने, जेनजी विद्रोहमा भएको नरसंहारका जिम्मेवारलाई कारबाही गर्ने, घाइतेको उपचार तथा शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषण उपलब्ध गराउने जस्ता माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीहरूले कार्की सरकारलाई असफल ठहर गरेका छन्।
‘यदि यस सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्दैन भने प्रधानमन्त्रीलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन निवेदन गर्दछौँ,’ २३ एलायन्सले राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।
आफूहरूको माग सम्बोधन नभए सरकारविरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्। ‘यो विद्रोह र शहादत केवल निर्वाचनका लागि मात्र होइन,’ आन्दोलनकारीले उल्लेख गरेका छन्।
कार्की नेतृत्वको सरकारले निर्वाचन–केन्द्रित रूपमा मात्र काम गरेपछि जेनजी समूहहरू आक्रोशित बनेका छन्। उनीहरूले आन्दोलन र शहादत निर्वाचनका लागि मात्र नभएको बताउँदै माग पूरा नभए पुनः विद्रोह हुनसक्ने चेतावनीसहित ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझाउने समूहमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीबी ग्रुप, जेवाईएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २.०, रियल जेनजी, जेनजी वाईग्रुप, जेनजी एलायन्स, नेपाल जेनजी (एनजीआर), इक्विटी नेपाल, समता जेनजी, अल नेसन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपाल छन्।
जेनजी एलायन्सका प्रतिनिधिहरू राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइरहेका बेला प्रधानमन्त्री कार्की भने निर्वाचन–केन्द्रित छलफलमा सहभागी थिइन्। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गरेको थियो।
यसैबीच सुधन गुरुङले समेत निरन्तर सरकारविरुद्ध धारणा व्यक्त गर्दै आएका छन्। गृहमन्त्रीले जेनजी विद्रोहका हत्यारालाई पक्राऊ नपरेको भन्दै आक्रोशित गुरुङले पुनः विद्रोह हुनसक्ने चेतावनी दिएका छन्। बिहीबार उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री ओमप्रकाश अर्याललक्षित गर्दै ‘मौनतालाई कमजोरी नठान्न’ आग्रह गर्दै जनआन्दोलनको ज्वालामुखी उठ्न थालेको उल्लेख गरेका छन्। उनले निरन्तर गृहमन्त्री अर्यालको राजीनामा पनि मागिरहेका छन्।
त्यस्तै, कमन जेनजी नेपालले जेनजी अभियन्ता मिराज ढुङ्गानामाथि भएको आक्रमण र सिमरा घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ। कमन जेनजीका अध्यक्ष विकेश साहले बिहीबार विज्ञप्ति जारी गर्दै ढुङ्गानामाथि भएको हातपात तथा उनको कार्यालयमा बुधवार भएको ढुङ्गा प्रहारप्रति आपत्ति जनाउँदै घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
प्रतिक्रिया