घरजग्गा कारोबार लगातार खस्कियो, राजस्व पनि घट्यो

शुक्रबार, ०५ मंसिर २०८२
काठमाडौं : देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ। कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ।
कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरालो लागेको छ। 

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन।

केही दिन पहिले मात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ। गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व संकलन गरेको थियो। 

गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो। यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व संकलन भएको थियो। गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३ हजार २४२ बराबरको राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। 

विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिस्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४ हजार ३९२ संकलन गरेको थियो। 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार