विवाह गर्ने उपयुक्त समय र विधि के हो ?

शुक्रबार, ०५ मंसिर २०८२

काठमाडौं: मङ्सिर विवाहको मौसम हो  विवाह गर्नलाई विशेष गरी उत्तरायण र दक्षिणायन भन्ने हुन्छ । अहिले दक्षिणायन छन् । माघबाट उत्तरायण हुन्छन् । सकेसम्म उत्तरायणमा विवाह गर्नु उपयुक्त ठानिन्छ । दक्षिणायनमा सकेसम्म विवाह नगर्नु भन्ने चलन छ । तर, विवाह गर्नलाई तुलसी विवाह भएपछि उत्तरायण सम्पन्न हुने भएकाले नहुने कुरा छैन । तर दक्षिणायनमा पनि विवाह गर्न मिल्छ र उत्तरायणमा विशेष गरी माघपछिको विवाहलाई बढी उत्तम मान्ने चलन छ ।

विवाहका विधि धेरै छन्, गन्धर्व विवाहदेखि लिएर विभिन्न किसिमका विवाह छन् । अहिलेको प्रेम विवाह बढी चलेको छ । गन्धर्व विवाहलाई त कसले रोक्न सक्छ र ? किनकि जतिखेर दुई जनाको कुरा मिल्यो विवाह भइहाल्छ । त्यस कारण विवाह भनेको दुई मनको मिलन पनि हो । सामाजिक रूपमा यसरी यो बेलामा गर्ने भनेको सामाजिक मान्यताका आधारमा मात्र हो । धार्मिक हिसाबले यो महिनामा गर्ने वा नगर्ने भन्ने कुरै छैन् । तर चतुर्मासभरि नगर्दा हुन्छ । किनकि नारायण साक्षी नहुँदा र हिन्दु धर्मअनुसार चतुर्मासभरी नगर्दा उत्तम हुन्छ ।

विवाह गर्ने जोडीको लग्न राशि हुन्छ । त्यो राशिसँग मेल खाने अर्को राशि हुन्छ । १२ वटा राशि हुन्छ, १२ राशि घुमिरहन्छ २४ घण्टाभित्रमा त्यो कुन राशि उसको लागि उत्तम हुन्छ, शुभ हुन्छ भन्ने हो । अब त्यो शुभ हुने बेलामा विवाह गर्नुपर्छ भनेर लग्न जुराउने हो । त्यस कारण एउटालाई लग्न जुराएको  समयमा अर्कोलाई पनि जुर्छ भन्ने चलन छ, त्यो गलत हो । प्रत्येक व्यक्तिगत रूपमा लग्न जुर्नुपर्छ । एउटाको लग्न जुरेको छ, पल्लो घरमा बिहे गरिरहेको छ भने यता पनि गर्न भइहाल्छ नि भन्ने चलन छ । त्यो पनि गलत हो ।

विभिन्न पर्वहरू विवाहका लागि उपयुक्त मानिन्छन् । अक्षय तृतीयालाई शिव र पार्वतीको विवाह भएको दिनलाई मानिन्छ । राम नवमी भनेको रामले विजय हासिल गरेको दिन हो । यी हर्षोल्लासका पर्व पनि हुन् । सरस्वती पूजा वा वसन्त पञ्चमी पर्वहरू आफैँमा शुद्ध र पवित्र मानिन्छन् । यस्ता पवित्र दिनहरूलाई तिथि–मिति जुराइरहनु पर्दैन ।

वास्तवमा विवाह भनेको अग्नि साक्षी राखेर गर्नुपर्ने कार्य हो । यसमा हवन गर्नुपर्ने हुन्छ ।  अग्नि जुर्नैपर्छ । अग्नि नजुर्दासम्म विवाह सम्पन्न हुँदैन । अग्नि नजुर्ने अवसरहरू पर्छन् । त्यो बेला विवाह गरिदैन् । हाम्रो सांस्कृतिक विभेद ल्याउन, एक आपसमा द्वन्द्व ल्याउनको लागि कतिपय कुराहरू आउने गर्छन् । पुष, चैत, कार्तिकमा विवाह गर्नु हुँदैन भनेर भन्नु त्यति जायज होइन । हिन्दु धर्मले कसैलाई पनि निन्दा वा भर्त्सना आदि इत्यादि गर्दैन । विशेष हिन्दु परम्पराअनुसार अग्नि नजुरेसम्म विवाह गर्न नहुने भएकाले ती महिनाहरूमा खास गरी अग्नि जुर्दैनन् । अग्नि नजुर्ने भएको हुनाले विवाह नगरिएको हो ।

(ज्योतिष डा.देवेन्द्र प्रसाद पाठकसँग नेपाल न्यूज बैङ्कले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार