इटहरी : ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सुनसरीको इनरुवा कौवाखोच सडक खण्डको जिम्मा पाएको निर्माण कम्पनीसगंको ठेक्का सम्झौता अन्त्य गरिएको छ ।
इनरुवा कौवाखोज सडक खण्डको निर्माणको जिम्मेवारी पाएको गौरी पार्वती देव एण्ड सायर भूमि जे भी विराटनगरसङको ठेक्का सम्झौता अन्त्य गरिएको हुलाकी राजमार्ग निर्देशनालय इटहरीले जनाएको हो ।
हरेक निर्वाचनमा राजनैतिक मुद्दाका रुपमा चर्चा पाउदै आएको इनरुवा कौवाखोज सडक खण्डको निर्माणको जिम्मा पाएको कम्पनीले निर्धारित अवधिमा काम सम्पन्न गर्न नसकेको, काम सम्पन्न गर्न सक्ने स्रोत परिचालन को भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गर्न नसक्दा ठेक्का सम्झौता अन्त्य गरिएको हुलाकी राजमार्ग निर्देशनालयले जारी गरेको सूचनामा जनाइएको छ ।
निर्देशनालयका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले इनरुवा कौवाखोज सडक खण्डको निर्माणको जिम्मा पाएको कम्पनीसङको ठेक्का सम्झौता अन्त्य भएको जानकारी दिए।
लामो समय देखि निर्माणको काम नगरिएको, भत्काइएको तथा भत्किएको सडकका कारण हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे भएर आवतजावतका समस्या हुने गरेको भन्दै स्थानीयले पटक पटक सडक निर्माण कार्य गरिदिन माग राख्दै सडक आन्दोलन समेत गर्दै आएका थिए ।
यसैबिच जिल्ला प्रशासन कार्यालय सुनसरीमा इनरुवा कौवाखोज सडकका विषयमा सरोकारवाला बिच छलफल गरिएको छ । छलफलमा ठेक्का सम्झौता अन्तकाले धुलाम्मे सडक प्रयोगकर्ता तथा स्थानीयवासीको स्वास्थ्य र सहजताका लागि इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुर सम्म इनरुवा नगरपालिकाले नियमित पानी हाल्ने र आगामी पौष ३ गतेबाट मर्मत सँभार को काम थालिने सहमति भएको छ ।
छलफल प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको पहलमा भएको थियो । छलफलमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक युवराज पोखरेल, इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, समाजसेवी दिलिपचन्द साह लगायत स्थानीयवासी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया