मधेश प्रदेशमा आज सभामुख पदको निर्वाचन हुँदै

आइतबार, ०६ पुस २०८२

जनकपुरधाम। मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ। एक महिनाभन्दा लामो समयदेखि रिक्त रहेको मधेस प्रदेशमा सभामुखका लागि निर्वाचन हुन लागेकाे हाे।

प्रदेशसभाले नयाँ सभामुख चयनका लागि आज दिउँसो १ बजे मतदान गर्ने कार्यसूची छ।

शनिबार सभामुख पदमा दुईजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, सात दलीय साझा उम्मेदवारको रूपमा जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव र एमालेका त्रिलोकी प्रसादले मनोनयन दर्ता गराएका थिए।

रामअशिष यादवको प्रस्तावकमा कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेका छन्। उनका अनुसार, विभिन्न दलबीच सहमति भएपछि साझा उम्मेदवारको रूपमा यादवको नाम अगाडि आएको हो।

त्यसैगरी, एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन्। दुवै प्रस्तावक र समर्थक एमालेकै प्रदेशसभा सदस्य रहेको सचिवालयले जानकारी दिएको छ।

मधेस प्रदेशको सभामुख पद मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई प्रदेशसभा सदस्यको हस्ताक्षरसहित पदमुक्त गरिएपछि रिक्त भएको हो। मण्डलविरुद्ध कात्तिक २६ गते कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ७६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित महाभियोग प्रस्ताव दर्ता भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार