‘अनेकतामा एकता : इटहरी वार्ड नं. २० तरहराको विशेषता’

विहीबार, १० पुस २०८२

सञ्जीव तिम्सिना

इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले “अनेकतामा एकता : वार्ड नं. २० तरहराको विशेषता” भन्ने मूल नारासहित विशेष कार्यक्रम सम्पन्न गरेको छ।

वडा अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम तरहरामा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रमअन्तर्गत बिहान तरहरा बजार परिक्रमा गरिनुका साथै सगरमाथा खेलमैदानमा १२ वटा जातजातिको सांस्कृतिक झाँकी तथा विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। सहभागी जातजातिलाई जनही पाँच हजार रुपैयाँ, नगर प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष श्रेष्ठले तरहरामा विभिन्न भाषा, धर्म र संस्कृतिका समुदायको सहअस्तित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तरहराको बहुसांस्कृतिक पहिचानलाई थप सशक्त बनाउने बताए। उनले सामाजिक सद्भाव, आपसी सम्मान र संस्कृतिको संरक्षण कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।

प्रमुख अतिथि नगर प्रमुख पौडेलले इटहरी–२० ले विभिन्न जातजातिलाई समेटेर आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले सामाजिक एकता र समावेशितालाई बल पुग्ने धारणा व्यक्त गरे।

सोही अवसरमा तरहरावासी फरक क्षमता भएका सुवास चन्द्र राई (विशाल), खेलकुद क्षेत्रमा सुशीला राई, कलाकारितातर्फ आस्मा विश्वकर्मा, वन्यजन्तु तथा फोटोग्राफी क्षेत्रमा निशान पराजुली शर्मा र नितेन मोक्तानलाई प्रमाणपत्र, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

वडा सदस्य तथा कार्यक्रम संयोजक तनुज गुरुङ (सुरेश)ले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपप्रमुख सङ्गीता कुमारी चौधरी, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराई, प्रहरी उपरीक्षक केशवकुमार थेबे, सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापा, इटहरीका २० वटै वडाका वडा अध्यक्षहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा जातजातिका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार