काठमाडौँ : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको समयसीमाभित्र राजनीतिक दलहरूले समानुपातिक बन्दसूची बुझाएका छन् ।
विघटित प्रतिनिधिसभाका प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले बन्दसूची पेस गरेका हुन् ।
यसैगरी, पहिलोपटक निर्वाचनमा सहभागी हुने नयाँ दलहरूले पनि समानुपातिक बन्दसूची बुझाएका छन् । जेन–जी आन्दोलनपछि देखिएको आम परिवर्तनको चाहनालाई ध्यानमा राख्दै पुराना राजनीतिक दलहरूले पटक–पटक समानुपातिकमा अवसर पाएकालाई यसपटक बिदाइ गरेका छन् ।
आयोगले सूची बुझाउन आइतबार र सोमबारसम्मको समय तोकेको थियो । सोमबार रातिसम्म टोकन लिएका दलहरूका लागि मङ्गलवार बिहान १० बजेसम्म सेवा दिने निर्वाचन आयोगले जनाएको छ । उक्त समयभित्र निर्वाचनमा भाग लिने सबै दलहरूले समानुपातिक सूची दर्ता गरिसक्नुपर्नेछ ।
उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्पष्ट पारे । ‘तर सूची बुझाउन आयोगको कार्यालय पुगेका दलहरूलाई मङ्गलवार बिहान १० बजेसम्म सेवा दिइनेछ,’ उनले भने ।
दलहरू निर्वाचन हुने–नहुने अन्योलमा परिरहँदा बन्दसूची बुझाउन उनीहरूलाई निकै दबाब परेको थियो । पुराना राजनीतिक दलहरूमा समानुपातिक बन्दसूचीमा पर्ने उम्मेदवारको सङ्ख्या धेरै हुँदा छनोटमा सकस परेको नेताहरूले बताएका छन् ।
यद्यपि नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीले पटक–पटक अवसर पाएकालाई नदोहोर्याउने मापदण्ड अपनाएका छन् । काँग्रेसले यसअघि कुनै पनि निर्वाचनमा समानुपातिक सांसद भइसकेकालाई सूचीमा नराखिएको जनाएको छ ।
पार्टीका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘यसअघिका निर्वाचनमा समानुपातिक सांसद भएकालाई नसमेटी पार्टीमा योगदान गरे पनि अवसर नपाएकालाई प्राथमिकता दिइएको छ । प्रत्यक्ष निर्वाचन जितेका तथा पार्टीले अत्यन्त सम्मान गर्नुपर्ने ५ देखि ७ प्रतिशत पुराना नेताहरू मात्र समेटिएका छन् ।’
काँग्रेसले २०६४ देखि २०७९ सम्मका निर्वाचनमा समानुपातिक अवसर पाएकालाई यसपटक नदोहोर्याउने निर्णयअनुसार बन्दसूची बुझाएको उनले जानकारी दिए । पुराना नेतामध्ये अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे लगायत केहीलाई भने समानुपातिकमा समेटिएको छ ।
नेकपा एमालेले केही पुराना अनुहार समेटिए पनि नयाँ अनुहारकै वर्चस्वसहित बन्दसूची पेस गरेको सचिव राजन भट्टराईले बताए । ‘केही पुराना नेताहरू पनि समेटिएका छन्, तर वर्चस्व नयाँ पुस्ताकै छ,’ उनले भने ।
वैकल्पिक शक्तिका रूपमा उदाएका नयाँ दलहरूलाई पनि पार्टी एकताको चटारोले समानुपातिक सूची बुझाउन हम्मेहम्मे परेको छ ।
बालेन शाह समूहसँग एकता गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक मतदानमार्फत दिउँसै बन्दसूची टुङ्गो लगाए पनि बालेन समूह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाललाई समेट्ने विषयमा साँझसम्म सूची बुझाउन सकेको थिएन ।
रास्वपाले १ सय १० जनाको नाम समानुपातिक बन्दसूचीमा बुझाउनुपर्ने व्यवस्था छ । कुलमान घिसिङसँग पार्टी एकताको सहमति भएपछि उज्यालो नेपाललाई १८ जना समानुपातिक दिने सहमति भएको छ ।
यसअघि बालेन समूहलाई ४० र रवि लामिछाने पक्षलाई ७० जनाको सूची बनाउने तयारी थियो । कुलमान समूह समेटिएपछि सबै पक्षसँग सूची समायोजन गरेर अन्तिम रूप दिइने रास्वपाका नेताहरूले बताएका छन् ।
समानुपातिक बन्दसूचीमा नेपाली काँग्रेसले पुराना नेताहरूलाई करिब ५ प्रतिशत मात्र स्थान दिएको दाबी गरेको छ । विभाग प्रमुख विश्वकर्माका अनुसार अधिकांश उम्मेदवार नयाँ तथा अवसर नपाएकाहरू छन् । पदाधिकारीतर्फ सहमहामन्त्री भीष्मराज आङदेम्बे तथा अन्यमा अर्जुननरसिंह केसी समेटिएका छन् ।
आदिवासी जनजातितर्फ पूर्वमन्त्री रोमी गौचन र गोपालमानसिंह राजभण्डारी, महिलातर्फ उर्मिला थपलिया, प्रेमिका रानामगर, रुक्मिणी कोइराला, गोमा भट्टराई, देवकी गौतमलगायतको नाम परेको छ ।
युवातर्फ प्रेमिका र सेतेमान तामाङ, गीता गुरुङ तथा चलचित्र निर्देशक मीन भाम पनि बन्दसूचीमा छन् । पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान पनि समानुपातिक सूचीमा परेका छन् ।
मधेश प्रदेशको समानुपातिक भागबन्डामा महेन्द्र यादव, फर्मुला मन्सुरी, उमकान्त चौधरी र कृष्ण यादवबीच सहमति नजुट्दा केही समस्या देखिएको काँग्रेस नेता विमलेन्द्र निधिले बताए । प्रारम्भिक सूची बुझाइएकाले केही मिलाउन बाँकी रहेको उनले जनाए ।
एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव पद्मा अर्यालदेखि जेन–जी पुस्ताकी निताता घतानीसम्म परेका छन् । नयाँ अनुहारमा क्रान्ति बुर्लाकोटी, भूमिका सुब्बालगायत छन् ।
लेखा आयोग अध्यक्ष डा. पुष्प कडेल, स्थायी कमिटीका पूर्वसदस्य गोरखबहादुर बोगटी, पूर्वउपाध्यक्ष गुरु बराल, रामेछापका राजकुमार श्रेष्ठ पनि सूचीमा छन् । टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी र अनिता कन्दङ्वा पनि समेटिएका छन् ।
पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतरा, लालबहादुर रावलसहित आठ जना छन् । अपाङ्गता भएका समुदायबाट स्याङ्जाका रामबहादुर थापा र यसुदा बराल परेका छन् । दलित क्लस्टरमा मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, जितु गौतमलगायत छन् भने अल्पसङ्ख्यक क्लस्टरमा रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन् ।
क्लस्टर मिलाउनुपर्ने भएकाले सबै नाम सार्वजनिक नगरिएको एमालेले जनाएको छ । सचिवालय बैठकले सूचीमा थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीले पनि तल्ला तहबाट आएका नामलाई क्लस्टर मिलाएर बन्दसूची बुझाएको नेता राजेन्द्र पाण्डेले बताए । ‘विगतमा समानुपातिकबाट आएका बाहेक नयाँ अनुहारलाई प्राथमिकता दिएका छौँ,’ उनले भने । समावेशी बनाउने क्रममा युवालाई पनि समेटिएको तर क्लस्टर हेरफेर हुन सक्ने भएकाले नाम सार्वजनिक नगरिएको उनले जानकारी दिए ।
रास्वपाले प्रि–इलेक्सनमार्फत उम्मेदवार छनोट गरेको छ । पहिलो नम्बरमा रमेश प्रसाईँ, दोस्रोमा प्रमोद न्यौपाने, तेस्रोमा रञ्जु दर्शनालाई मतदाताले रोजेका छन् । चौथोमा टिका सङ्ग्रौला (ज्वाला), पाँचौँमा लिमा अधिकारी, छैटौँमा समीक्षा बास्कोटा, सातौँमा विपिनकुमार आचार्य छन् ।
मत सङ्ख्याका आधारमा आठौँमा क्रान्ति शिखा धिताल र नवौँमा प्रतिभा रावल छन् । आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ, गायिका सत्यकला राई र मिलन लिम्बु छन् ।
दलिततर्फ प्रकाशचन्द्र परियार, विजय जैरु, अमृता विक, सविना विश्वकर्मा, स्मृति सेन्चुरी र अविता नेपाली छन् । मधेशीतर्फ पुनमकुमारी अग्रवाल र डा. अंकिता ठाकुर तथा मुस्लिमतर्फ समिना मिया, अख्तर हुसेन र मोहम्मद हसरत अली छनोट भएका छन् ।
प्रतिक्रिया