मेलबर्नमा प्रशिक्षण सत्रका क्रममा क्रिकेट बलले लागेर घाइते भएका एक अस्ट्रेलियाली किशोरको मृत्यु भएको छ।
१७ वर्षीय बेन अस्टिन मंगलबार फर्न्टी गली क्रिकेट क्लबमा नेट प्रशिक्षण गरिरहेका बेला उनको टाउको वा घाँटीमा बलले लागेको बताइएको छ । उनले त्यतिबेला हेल्मेट पनि लगाएका थिए।
स्थानीय समयअनुसार साँझ ५ बजे आपत्कालीन कर्मचारीहरूलाई घटनास्थलमा बोलाइएको थियो र उनलाई गम्भीर अवस्थामा मोनस चिल्ड्रेन्स हस्पिटल पुर्याइएको थियो। उनलाई तत्कालै लाइफ सपोर्टमा राखिएको थियो तर बिहीबार उनको निधन भयो।
फर्न्टी गली क्रिकेट क्लबले आफ्ना एक खेलाडीको दुःखद निधनले आफूहरू पूर्ण रूपमा स्तब्ध भएको जनाएको छ। क्लबका अनुसार किशोरको मृत्युले सम्पूर्ण क्रिकेट समुदायलाई दुखित तुल्याएको छ।
यो घटना अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजको निधन भएको एक दशकभन्दा बढी समयपछि भएको हो । सन् २०१४ मा शेफिल्ड शिल्डमा ब्याटिङ गर्दा उनलाई घाँटीमा बलले लागेपछि निधन भएको थियो। उनको मृत्युपछि सुरक्षा उपकरणमा सुधार गरिएको थियो।
प्रतिक्रिया