धरान : धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच चुनावी तालमेलको सहमति जुटेको खबर बाहिरिएलगत्तै कडा प्रतिक्रिया दिएका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै उनले एक्लै चुनाव लड्ने साहस नहुँदा उनीहरू गठबन्धनमा गएको दाबी गरे।
साम्पाङले फेसबुकमा लेखेका छन्, ‘अहिले जो–जो गठबन्धन गर्दैछन्, उनीहरूको जमानत जफत हुने देखिन्छ ! नत्र त एक्लै लडिहाल्थे नि ! हुतिहाराहरू !’ उनले उक्त गठबन्धन टिकाउ नहुने र चुनावी परिणाममा असफल हुने सङ्केत गरेका छन्।
मेयर साम्पाङले जेन–जी पुस्तालाई लक्षित गर्दै श्रम संस्कृति पार्टीमै आबद्ध हुन अपिल पनि गरेका छन्। रवि–बालेनको नयाँ गठबन्धनले युवाको चाहना र आवश्यकता सम्बोधन गर्न नसक्ने जिकिर गर्दै उनले बालेन र रवितर्फ सङ्केत गरी ‘गेमर’ को संज्ञा दिएका छन्।
‘जेन–जी हो, तपाईँहरूको माग श्रम संस्कृतिले मात्रै पूरा गर्नेछ,’ साम्पाङले लेखेका छन्, ‘अरू त सबै गेमर हुन् ! उनीहरूको काम छैन ! उल्टो थुन्छ मात्रै !’
रास्वपा, बालेन र कुलमानबीच चुनावी मोर्चाबन्दी तय भएको घोषणा भएसँगै साम्पाङले उनीहरूविरुद्धको वाकयुद्ध अझै चर्काएका छन्।
प्रतिक्रिया