पुस २४ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

सोमबार, १४ पुस २०८२
File Photo

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमालेका सचिव डा. राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेदवारको नामावली पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको जानकारी दिए । उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला उम्मेदवारसहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।

“एक निर्वाचन क्षेत्र भएका जिल्लालाई पुस २० गतेभित्र उम्मेदवार छनोट गरी प्रदेश कमिटीमा पठाउन निर्देशन दिएका छौँ,” सचिव भट्टराईले भने, “एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा भने पुस २४ गतेभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी नामावली पठाउन भनिएको छ ।”

जिल्ला कमिटीबाट प्राप्त उम्मेदवारको सूची प्रदेश कमिटीले जस्ताको तस्तै पठाउन सक्ने वा आवश्यक परे नाम थप गरेर पनि पठाउन सक्ने व्यवस्था गरिएको सचिव भट्टराईले बताए ।

उनका अनुसार पार्टीले एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कमिटीको सिफारिसका आधारमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय निर्वाचन कमिटीमार्फत एक महिलासहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

तल्लो तहबाट सिफारिस भएर आएका उम्मेदवारमध्ये पार्टीले तय गरेको मापदण्डका आधारमा निर्वाचन जित्ने क्षमता भएका उम्मेदवारलाई टिकट प्रदान गरिने सचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार