महाधिवेशन सार्ने बहाना नगर्न नेता गुरुराज घिमिरेको चेतावनी

विहीबार, १३ कार्तिक २०८२

धरान : नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूले पार्टीको महाधिवेशन तत्काल गर्न माग गरेका छन्।

पार्टी रूपान्तरण अभियानका अगुवा तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी नेतृत्वलाई महाधिवेशन सार्ने बहाना नगर्न चेतावनी दिएका छन्।

नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ सुनसरी क्षेत्रीय कार्यसमितिद्वारा धरानमा आयोजित भातृ तथा शुभेच्छुक संस्थासँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेता घिमिरेले पार्टीको महाधिवेशन अनावश्यक रूपमा ढिलो पार्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।

उनले केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याउने, झारो टार्नका लागि मात्र तालिका बनाउने र प्राविधिक बहानामा महाधिवेशनलाई डेढ वर्ष पछाडि सार्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न पार्टी नेतृत्वलाई निर्देशन दिए।

घिमिरेले भने, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विधिवत् रूपमा महाधिवेशनको माग पेस गरेका छन्। त्यसलाई कुतर्क गरेर अवमूल्यन गर्न खोज्नु नेतृत्वको असाफ नियतको सङ्केत हो।”

उनले बहुमत महाधिवेशन प्रतिनिधिको भावना कुल्चिएर अघि बढ्ने प्रयास भए आफूहरू आफैँ महाधिवेशन आयोजना गर्न बाध्य हुने चेतावनी दिए।

कार्यक्रममा सहभागी भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले पनि नियमित वा विशेष, जुनसुकै रूपमा भए पनि महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने माग राखेका थिए।

उनीहरूले पार्टी नेतृत्वले विभिन्न बहानामा महाधिवेशन रोक्ने काम नगरी युवा र अन्य भातृ संस्थाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेता घिमिरेका साथै पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, जिल्ला उपसभापति नागेशचन्द्र राईलगायतले आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल शिक्षक सङ्घ, नेपाल प्रेस युनियन, नेपाल दलित सङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल सांस्कृतिक सङ्घलगायतका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले पनि विचार राखेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार